वीरगंज । तिहारलाई लक्षित गर्दै वीरगंज आईसीपी भन्सारबाट रसिला र सुकाइएका फलफूल,चक्लेट र बिस्कुट गरी झण्डै ३ अर्ब भन्दा बढिको सामान नेपालमा आयात भएको छ ।
वीरगंज भन्सार कार्यालयका अनुसार तिहारलाई लक्षित गर्दै त्यस नाकाबाट झण्डै १ अर्व ५० करोड ३० लाख मुल्यको सुकाइएको फलफूल मात्र आयात भएको छ । त्यसै गरी केरा, स्याउ,अनार,अम्बा,अंगुर, मेवा,किबि लगायतका रसिला फलफुलहरु झण्डै ९० करोड भन्दा बढी मुल्यको भित्रिएको छ । त्यसैगरी ६० करोड भन्दाबढिको चक्लेट, बिस्कुट लगायतका सामाग्री समेत आयात भएको वीरगंज भन्सार कार्यालयले उल्लेख गरेको छ ।
नेपालमा तिहारका बेला सबैभन्दा धेरै,सुकाइएका फलफूल खपत हुने गरेको र भाइटीकामा दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा दिने भएकाले यसलाई कतिपयले ‘भाइ मसला’ समेत भन्ने गर्दछन् ।
तिहारमा ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, हाडे बदाम,छोकडा, मखना लगायतका सुकेका फलफूलको खपत धेरै हुने गर्दछ ।
सुकेका फलफुल नेपालमा छिमेकी मुलुक भारत र चीनसहित बेलायत, इटाली, भियतनाम, यूएई, इन्डोनेसिया, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिका लगायतका मुलुकबाट आयात हुने वीरगंज भन्सार कार्यालयका प्रबक्ता एवं भन्सार अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिनुभयो ।
सरकारले आयातमा गरेको कडाईका कारण गतबर्षको तुलनामा यसबर्ष सुकेका फलफूलको आयात घटेको छ । केही समय यता डेंगु,कोभिडको कारण हरियो नरिवल,मेवा,अम्बा लगायतका फलफुलको आयात समेत उल्लेख्य परिणााममा बढ्दै गएको सुबेदीले बताउनुभयो ।
वीरगंज भन्सारले दिएको जानकारी अनुसार विगत एक महिना यता १९ लाख ६५ हजार ४ सय १३ किलो ग्राम सुकेका फलफूल मात्र नेपालमा भित्रिएको छ ।