पर्वत । पर्वतको ठाना मौलामा विगत ३० वर्षदेखि देखि सुरु गरिएको ‘धर्म भकारी’, अन्नको संरक्षण गर्ने परम्परा अहिले पनि गाउँलेहरूले जोगाइरहेका छन् ।
समयको परिवर्तनसँगै समाजका कतिपय सांस्कृतिक परम्परा, प्रविधि लोप हुँदै गए पनि यहाँका बासिन्दाले ‘धर्म भकारी’ लोप हुन दिएका छैनन् ।
३० वर्ष अगाडी गाउँको ढुकुटीको रुपमा ४/४ माना अन्न उठाएर शूरु गरिएको ‘धर्म भकारी’मा अहिले सम्म ४० मुरी कोदो सङ्कलन भएको छ ।
वर्खे खेती लगाउने समयमा घरमा अन्नपात सकिएमा गाउँले भेला भएर यही अन्न पैँचो लगेर काम चलाउँछन् भने हिउँदमा सबैले आफूले लगेको अन्नमा केही थपेर ‘धर्म भकारी’ लाई फिर्ता गर्ने चलन अहिले सम्म चलिआएको छ ।
धर्म भकारी बाट कोदो लाने व्यक्तिले १० पाथी कोदो लगेमा २ पाथी थपेर मङ्सिरमा फिर्ता गर्ने गरेका छन् । भकारीबाट कोदो सापटी लगेपछि कोदो नै फिर्ता गर्नुपर्छ, पैसा तिर्न पाइँदैन । आफूले लगेको अन्न मङ्सिरमा फिर्ता गर्नुपर्ने भएकोले सदस्यले आफ्नो बारीमा कोदो फलाउनै पर्छ । यसो गर्दा स्थानीय स्तरमा कोदो खेती पनि लोप नहुने समितिका सदस्य रत्न बहादुर गुरुङको भनाई छ ।
तत्कालीन समयमा गाँउमा वन नभएको अवस्थामा वृक्षारोपण गरी लोसेको वन संरक्षणका लागि वनका हेरालु राख्न श्रोत नभएकाले गाउँलेहरू मिली कोदो उठाएर ‘धर्म भकारी’ स्थापना गरेको स्थानीय श्याम बहादुर कुँवरले जानकारी दिनुभयो ।
धर्म भकारीमा रहेको अन्न प्राय जेठ महिनामा बाँडिने हुँदा मङ्सिरसम्म भकारी खाली रहने र मङ्सिरमा सबैले अन्न फिर्ता गर्ने हुँदा भरिने गर्दछ । अन्न धेरै भएको अवस्थामा गाउँलेको भेलाले विक्री गर्ने परम्परा समेत रहेको पाइन्छ ।
ठाना मौलाका ३,४ र ५ का गाउँले मिलेर सञ्चालन गरेको ‘धर्म भकारी’ दुःखका बेला सहारा बन्दै गएको छ । ‘धर्म भकारी’ले गाउँमा आत्मीयता र सहयोगको भावना बढाएको छ ।
मा प्रकाशित