तरलता व्यवस्थाका निम्ति बैङ्किङ प्रणालीमा रु २० अर्ब प्रवाह हुँदै

आर्थिक परिवेश

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबार रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैङ्कले आगामी मङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैङ्किङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।

बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैङ्कले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैङ्कले यसअघि यही महिनामा दुई पटक रिपो जारी गरिसकेको छ । बिहीबार जारी हुने रिपोसहित अब रु ५० अर्ब बराबरको रकम वित्तीय प्रणालीमा प्रवाह हुनेछ ।

बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैङ्क तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैङ्कले जनाएको छ । तरलता अभावका कारण बैङ्क तथा वित्तीय संस्थाको कर्जा तथा निक्षेप लगानीमा चाप परेको छ । केही बैङ्क थप ऋण दिनसमेत नसक्ने अवस्थामा पुगेका छन् । राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैङ्कको कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेसँगै यसको व्यवस्थापनमा समेत बैङ्कहरूलाई कठिन परेको छ । केन्द्रीय बैङ्कको पछिल्लो विवरणअनुसार औषत कर्जा निक्षेप अनुपात ८९ दशमलव ८७ प्रतिशत छ ।

चालु आर्थिक वर्षको सुरुआतमा सोचेअनुरूप विप्रेषण प्रवाह नहुनु, आयात बढ्दा बाह्य क्षेत्रमा दबाब पर्नु तथा समयमै सरकारी खर्च नहुँदा वित्त प्रणालीमा तरलताको चाप परेको हो । नेपाल बैंकर्स सङ्घको ३५औँ साधारण सभामा मङ्गलवार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कलाई संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गर्नुभएको थियो । कोरोना महामारीपछि बैङ्कमा कर्जाको माग बढेको र त्यसलाई सम्बोधन गर्दै अल्पकालीन नाफा लिन खोज्दा तरलतामा चाप परेको वास्तविकतालाई नबिर्सन र ‘बैंकरहरू’मा अनुशासन कायम हुन जरुरी भएको उहाँले अभिव्यक्ति दिनुभएको थियो ।

आफ्नो संस्थाको निक्षेप बढाउन र त्यसलाई अन्य बैङ्क तथा वित्तीय संस्थामा जान नदिन बैङ्क तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नै निक्षेपमा दुई अङ्कको ब्याजदर तोकेका थिए । आफ्नो निक्षेपको सुरक्षा तथा केन्द्रीय बैङ्कले तोकेबमोजिमको कर्जा निक्षेप अनुपात कायम गर्न बैङ्कहरूले निक्षेपको ब्याज बढाएको स्वयम् बैंकरहरू नै स्वीकार गर्छन् ।

बैङ्क तथा वित्तीय संस्थाले ब्याजदरमा असाधारण प्रतिस्पर्धा गरेको भन्दै व्यवस्थित गर्न राष्ट्र बैङ्कले तीन बुँदे निर्देशन नै जारी गर्नु परेको थियो । गभर्नर अधिकारीले ब्याजदर स्वतन्त्र रहोस् भन्ने केन्द्रीय बैङ्कको चाहना भए पनि परिस्थितिका कारण हस्तक्षेप गर्नु परेको बताउनुभएको थियो ।

हाल तरलता व्यवस्थापनमा बैङ्क तथा वित्तीय संस्थाले रिपो, अन्तर बैङ्क सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्दै आएका छन् । केन्द्रीय बैङ्कका अनुसार अन्तर बैङ्क सापटीको दर चार दशमलव ९६ प्रतिशत पुगेको छ । त्यस्तै चालु आवमा मङ्गलवारसम्म बैङ्क तथा वित्तीय संस्थाले रु १३ खर्ब ६२ अर्ब ८८ करोड अस्थायी तरलता सुविधाको प्रयोग गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरे पनि तरलता व्यवस्थापन भने सहज हुन सकेको छैन । रासस

मा प्रकाशित