विदेशी वस्तु ल्याएर प्रशोधन गरेर होइन स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्नुस – प्रधानमन्त्री 

आर्थिक परिवेश

 

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी वस्तु ल्याएर प्रशोधन गर्नु भन्दा देशकै कृषि वन तथा खानीमा आधारित उद्योग धन्दाहरुको विकास गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ ।
नेपाल उद्योग परिसंघको १९औ बार्षिक साधारणसभाको आइतवार काठमाण्डौमा उदघाटन गर्दे प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरेर प्रशस्त आय गर्न र देशमा रोजगारी वृद्धि तथा आर्थिक कृयाकलापहररु बढाउने भूमिका खेल्न पनि उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।
प्रधानमन्त्री देउवाले तत्काल लाभ दिने भन्दा पनि दीर्घकालीन लाभ हुने र रोजगारी श्रृजना गर्ने क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो ।
प्रधानमन्त्री देउवाले नीजि क्षेत्रलाई लगानीको उचित वातावरण निर्माण गर्न सरकारले नीतिगत तथा कानूनी सुधारको काम अघि बढाएको पनि उल्लेख गर्नु भयो ।
नेपाल राष्ट्र बैकले हालै यस बर्षका लागि मौद्रिक नीति ल्यााएकोले त्यसको कार्यान्वयनका लागि सकारात्मक भूमिका खेल्न  र नीतिले ल्याएका सहुलियतका व्यवसाहरुको उपयोग गर्न पीन प्रधानमन्त्री देउवाले उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कृर्षि प्रधान मुलुक भएर पनि कृर्षिको उत्पादनलाई राज्यले प्रोत्साहन नगर्दा बर्षेनी अबौको कृषिजन्य सामाग्री विदेशबाट आयात गर्नु पर्ने अवस्था रहेको उल्लेख गर्नु भयो ।
अध्यक्ष अग्रवालले “समृद्धि सपना वा चाहना होइन, यो आवश्यकता हो । सरकार एक्लैको प्रयासबाट समृद्धि हासिल हुन सक्दैन । निजी क्षेत्रको प्रयासबाट मात्रै पनि सम्भव छैन । सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट नै यो उपलब्धी हासिल हुन सक्छ” भन्नु भयो ।
समृद्धिको आधार निजी क्षेत्र भएकाले निजी क्षेत्रलाई विश्वासमा लिने र लगानीका लागि प्रोत्साहित गरिरहने जिम्मेवारी राज्यको हो , उपयुक्त वातावरण भएमा निजी क्षेत्र लगानी विस्तार, उद्योग स्थापना, रोजगारी सिर्जना गर्न, बढी भन्दा बढी राजश्व तिर्न पनि आतुर छ ,अग्रवालले उल्लेख गर्नु भयो ।
निजी क्षेत्रले जोखिम व्यहोरेर आफ्नो मेहेनतबाट पूँजीको सिर्जना गर्छ त्यसैले निजी क्षेत्र र नाफा प्रतिको दृष्टिकोण फेर्न आवश्यक रहेकोमा पनि अग्रवालले जोड दिनु भयो ।
‘कसैले गलत गरेको छ भने उसैलाई मात्र गलत भन्नु पर्छ । समग्र निजी क्षेत्रलाई हतोत्साहित गर्न हुँदैन । जसरी एउटा प्राणीलाई सवल र सक्षम रुपमा हुर्कन स्वच्छ र स्वस्थ वातावरण चाहिन्छ, त्यसैगरी समृद्धिको सारथी निजी क्षेत्रको विकासका लागि पनि अनुकूल वातावरण चाहिन्छ,अग्रवालको भनाई थियो ।
उद्योगी व्यवसायीहरु सरकारसँगै सहकार्य गछौं, जनताको समृद्धिको चाहना पूरा गर्न सँगसँगै हिड्न चाहन्छौं, केवल सरकारले हामीलाई सहयोगी हात देओस्, आवश्यक परेको बेलामा दरिलो साथ देओस् अध्यक्ष अग्रवालले भन्नु भयो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल उद्योग परिसंघको नयाँ वेभसाइड,एप्स तथा चालु आर्थिक बर्षको बजेट कार्यान्वयन सम्बन्धी योजना समेत सार्वजनिक गर्नु भयो ।

 

मा प्रकाशित