सरकारले १२ सय मेघावाटका दुई आयोजनाको अध्ययन गर्ने जिम्मा भारतीय कम्पनीलाई दियो

आर्थिक परिवेश

काठमाडौँ । लगानी बोर्डको ५२ औं बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपिसि लिमिटेड भारत सँग गरिने समझदारीपत्रलाई स्वीकृत गरेको छ ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न बोर्ड बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताको सम्बन्धमा आवश्यक तयारी अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।
बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत परियोजनाको अध्ययनको लागि हिमताल हाइड्रोपावर कम्पनी प्रालिलाई सर्बेक्षण अनुमति प्रदान गर्न समझदारी गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यस्थापनको सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन सम्बन्धमा समेत बैठकले निर्णय गरेको छ ।
बैठकले नेपालमा दिगो पूर्वाधार विकासमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आगामी सेप्टेम्बर दोस्रो साता दिगो पूर्वाधार लगानी मञ्च २०२२ काठमाण्डौमा आयोजना गर्ने निर्णय पनि गरेको छ ।

मा प्रकाशित