कैलाली । बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेर पीडित हुनुभएका कैलालीका किसानहरु जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकारले उपलब्ध गराएको राहत पाए पछि खुशि हुनु भएको छ ।
गोदावरी नगरपालिका–८ का किसान मनिराम चौधरीले सरकारबाट तीन हजार ६ सय राहत रकम पाउँदा राहतको अनुभव भएको बताउनु भयो ।
जिल्लाको दक्षिणपूर्वी जानकी गाउँपालिकाका लेखापाल जनकराज जोशीले गाउँपालिकामा २५ लाखभन्दा बढी रकम राहतबापत् वितरण भइसकेको बताउनुभयो ।
उक्त पालिकामा पीडितलाई राहत वितरण गर्न रु एक करोड आठ लाख रकम निकासा भएको उहाँले उल्लेख गर्नु भयो ।
निकासा भएको रकममध्ये अझै ८४ लाख रुपैया वितरण गर्न बाँकी छ ।उक्त गाउँपालिकामा झण्डै चार हजार किसानको बालीमा क्षति पुगेर पीडित भएका र उनीहरुलाई झण्डै १७ करोड राहत वितरण गरिसकिएको छ । निकासा भएको रकम मध्ये पाँच करोड खर्च हुन नसकेको छैन ।
जिल्ला प्रशासन कार्यालयका लेखापाल यदु पौडेलले राहत थोरै भएको भन्दै कतिपय पीडित किसानले राहत लिन चासो नदेखाएकाले पनि निकासा भएको सबै रकम वितरण हुन नसकेको बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार एक कठ्ठादेखि दश कठ्ठासम्म जग्गाको बालीमा क्षति व्यहोरेका साना किसानलाई प्रतिकठ्ठा ३२५ का दरले राहत रकम उपलब्ध गराइएको छ ।
यस्तै दश कठ्ठादेखि साठी कठ्ठा(तीन बिघा) सम्म जग्गामा क्षति व्यहोरेका मझौला किसानलाई प्रति कठ्ठा १२५ र तीन बिघा भन्दामाथि जग्गा भएका पीडित ठूला किसानलाई प्रति कठ्ठा ७५का दरले राहत रकम वितरण गरिएको छ किसानलाई राहत उपलब्ध गराउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय कैलालीलाई २१ करोड ९७ लाख पठाएको थियो ।
कैलाली जिल्लामा मात्रै ८३ हजार ३५९ किसानको ४८ हजार १२४ हेक्टर जग्गाको धान बालीमा क्षति पुगेको थियो ।