काठमाण्डौ । गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा हुने विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई १००७ अर्ब ३१ करोड पुगेको छ ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,५४,६६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २,८२,४५३ पुगेको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा चालु खाता ६२३ अर्ब ३३ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ । अघिल्लो वर्ष चालु खाता रु.३३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५ अर्ब १७ करोडले घाटामा रहेको छ ।
गत आर्थिक वर्षमा शोधनान्तर स्थिति २५५ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब १४ करोडले घाटामा रहेको छ ।
२०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ असार मसान्तमा १८.९ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड कायम भएको नेपाल राष्ट्र बैकले मंगलवार जारी गरेको गत आर्थिक बर्षको आर्थिक समीक्षा प्रतिवेदनमा उल्लेख छ ।