काठमाडौँ । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीले पनि काम गर्ने बाटो खुल्ला भएको छ । यस सम्बन्धमा नेपाल र बेलायत सरकारबीच एक सम्झौता भएको छ ।
नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वाथ्य क्षेत्रमा रोजगारीका लागि पठाउने सम्बन्धी श्रम समझदारी पत्रमा सोमवार दुई पक्षबीच हस्ताक्षर भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारको तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
नेपाल सरकार र बेलायत सरकारबीच भएको सो समझदारी पत्र अनुसार बेलायतको स्वास्थ्य सेवामा कार्यरत नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था गरिएको छ ।
नेपाली स्वास्थ्यकर्मीको छनौट, पदस्थापना लगायतका विषय छलफलमा रहेको कार्यान्वयन ढाँचा अनुसार हुनेगरी सैद्धान्तिक सहमति गरिएको छ ।
सरकारी प्रक्रियामार्फत स्वास्थ्यकर्मीलाई बेलायत पठाउने र यस प्रक्रियामार्फत बेलायत जाँदा कुनै पनि खर्च नलाग्ने र परीक्षणका रुपमा पहिलो चरणमा नेपाली नर्सहरूलाई लैजाने समझदारी रहेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यक्रममा श्रम सचिव एकनारायण अर्यालले नेपाल–बेलायतबीचको कूटनीतिक सम्बन्ध धेरै अघिदेखि रहेको भएपनि श्रम सम्बन्धको क्षेत्रमा यसै समझदारी भने सुरुवात गरेको बताउनुभयो ।
उहाँले मुलुकभित्र स्वास्थ्यकर्मीको अभाव नहुने प्रबन्धसहित कार्यविधि बनाएर स्वाथ्य जनशक्तिलाई बेलायत पठाइने जानकारी दिनुभयो ।
नेपालका लागि बेलायतको राजदूत निकोला पोलिटले नेपाल र बेलायत सरकारबीचको समझदारीमा नेपाली स्वास्थ्यकर्मीलाई बेलायती स्वास्थ्य सेवामा रोजगारी प्रदान गर्न लागिएको बताउनुभयो ।
उहाँले नेपाली स्वास्थ्यकर्मीको सीप र दक्षता विकासमा सहयोग गर्दै परीक्षामा सफल जनशक्तिलाई बेलायत लैजाने बताउनुभयो ।