काठमाण्डौ । नेपाल र अस्ट्रेलियाबीच सोमबार जलस्रोत व्यवस्थापन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
परराष्ट्र सचिव भरतराज पौड्याल र समकक्षी जान आडम्सबीच भएको द्विपक्षीय वार्तापछि अष्ट्रेलियाको राजधानी क्यानवेरामा दुईदेशबीच जलस्रोत व्यवस्थापन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको क्यानबेरास्थित नेपाली दूतावासले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा सहभागी जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरे र अस्ट्रेलियाका परराष्ट्र सचिव आडम्सले समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको छ ।
सचिव पौड्याल र समकक्षी आडम्सबीच द्विपक्षीय सम्बन्धका सबै विषयमा छलफल भएको र आगामी दिनमा आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य सुदृढ गर्ने सहमति भएको दूतावासले जनाएको छ ।
नेपाल–अस्ट्रेलिया परराष्ट्र मन्त्रालयस्तरीय संयुक्त परामर्श संयन्त्रको दोस्रो बैठकमा भाग लिने क्रममा सचिव पौड्याल नेतृत्वको नेपाली टोली अस्ट्रेलिया भ्रमणमा रहेको छ । दुइ पक्षीय संयन्त्रको बैठक भोलि मंगलबार आयोजना हुने कार्यक्रम रहेको छ । सो संयन्त्र सन् २०१७ जुलाईमा स्थापना भएको थियो ।
नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध साझा विषयमा छलफल गर्न उक्त संयन्त्र स्थापना भएको हो ।
प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख लोकबहादुर थापा, अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोख्रेल र परराष्ट्रकी उपसचिव सीता बस्नेत सहभागी रहनु भएको छ ।
अस्ट्रेलिया–नेपाल द्विपक्षीय सहकार्य
सन् १९६० फेब्रुअरीमा नेपाल र अस्ट्रेलिया बीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
गरिबी निवारण, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, मानव संशाधन विकास, संघीयता सुदृढीकरण र शान्ति प्रक्रियामा नेपाल सरकारका विभिन्न निकाय तथा अन्तर्राष्ट्रिय दातृ निकायको माध्यमबाट अस्ट्रेलिया सरकारले नेपाललाई सहयोग गर्दै आएको छ । भूकम्पपछिको पुर्निर्माण र कोरोना महामारीमा पनि अष्ट्रलियाले नेपालललाई विभिन्न क्षेत्रमा सहायता प्रदान गरेको थियो ।
नेपाल आउने पर्यटक घटे
अस्ट्रेलियाबाट नेपालमा उल्लेख्य संख्यामा पर्यटक पनि आउने गरेका छन् । कोरोना महामारीका कारण अस्ट्रेलियाबाट नेपाल आउने पर्यटकको संख्या ह्वात्तै घटेको छ ।
सन् २०१८ मा ३८ हजार ४२९ पर्यटक नेपाल आएकामा सन् २०२१ मा २ हजार ४७७ पर्यटक मात्रै आएको सरकारी तथ्यांक छ । अस्ट्रेलियामा प्रवासी नेपालीको संख्या ठूलो छ । जसमा विद्यार्थी बढी छन ।
अस्ट्रेलियामा डेढ लाख नेपाली
सन् २०२१ को गणना अनुसार अस्ट्रेलियामा नेपाली मूलका नागरिक १ लाख २२ हजार ५१५ जना बसोबास गर्छन ्। अस्ट्रेलियामा सबैभन्दा धेरै विद्यार्थी पठाउने मुलुकको सूचीमा चीन, भारत पछि नेपाल तेस्रो स्थानमा पर्छ ।
नेपालको व्यापार घाटा बढ्यो
नेपालको अस्ट्रेलियासँग ठूलो व्यापार घाटा छ । नेपालले सन् २०२१ मा अस्ट्रेलियन डलर ११ मिलियन बराबरको सामान निर्यात गरेको थियो भने १८६ मिलियन डलर बराबरको सामान आयात गरेको थियो ।
कार्पेट, कटनका कपडा, चिया, कफी, पास्ता, चाउचाउ, सल र ह्यान्डिक्र्याफ्ट नेपालबाट निर्यात हुने गरेका छन ।
अष्ट्रेलियामा नेपाली मुलका नागरिकको संख्या बढेसंगै त्यहाँ नेपालमा उत्पादित वस्तुहरुको बजार विस्तार गर्ने सम्भावना धैरै रहेको र त्यसको माध्यमबाट नेपालले व्यापार घाटा घटाउन सक्ने अवस्था रहेको त्यहाँ व्यवसाय गरेर बस्ने नेपाली मुलका अष्ट्रेलीयन नागरिकको भनाई रहेको छ ।
नेपालले अस्ट्रेलियाबाट प्रशोधित पेट्रोलियम पदार्थ, फलफूल र घ्यूलगायत वस्तु आयात गर्ने गरेको छ ।