काठमाडौं । नेपाली रुपैया विगत केही दिन देखि डलरको तुलनामा निरन्तर कमजोर हुँदै गएको छ । नेपाली रुपैया कमजोर हुदै जाँदा नेपालमा मुल्यवृद्धिको चाप पर्नुका साथै आर्थिक कृयाकलापमा पनि प्रत्यक्ष प्रभाव पर्ने हुन्छ ।
पछिल्लो केही दिन यता डलरको मूल्यले एक पछि अर्को गर्दै नयाँ नयाँ रेकर्ड कायम गर्दा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको हो ।
पछिल्लो पटक अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको हो ।
गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य त्यसयता हरेक दिन जसो बढेर नयाँ रेकर्ड बनाउँदै गएको छ ।
बिहिबारको लागि एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १३० रुपैयाँ ८१ पैसा पुगेको थियो । यस्तै राष्ट्र बैंकले तोकेको खरिद मूल्य १३१ रुपैयाँ ४१ पैसा रहेको छ ।
गत शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो । यसअघि ५ साउन २०७९ मा १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २९ पैसा र क्रय मूल्य १२७ रुपैयाँ ६९ पैसासम्म पुगेकोमा शुक्रबार उक्त मुल्यबाट माथि लागेको थियो ।
१८ साउनमा एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १२६ रुपैयाँ २५ पैसा र क्रय मूल्य १२५ रुपैयाँ ६५ पैसासम्ममा झरेको थियो । त्यसपछि पुनः बढ्न लागेको डलरको मूल्यले गत शुक्रबार नयाँ उचाइ कायम गरेको थियो ।
त्सयता डलर लगातार बढीरहेको छ । आइतबार बढेर एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो । सोही दिन राष्ट्र बंैकले तोकेको क्रय मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको थियो ।
मंगलबार थप महँगिदा एक अमेरिकी डलरको विनिमय दर (बिक्रीदर) १३०.९० रुपैयाँ र क्रय दर १३० रुपैयाँ ३० पैसा रहेकोमा बुधबार भने सामान्य घटेर डलरको क्रयदर १३० रुपैयाँ २६ पैसा र बिक्रीदर १३० रुपैयाँ २६ रुपैयाँ थियो ।
भारतीय मुद्रा लगातार कमजोर बन्दै जाँदा भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरको कारण पनि नेपाली मुद्रा कमजोर बन्दै गएको हो ।
अगामी दिनेमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको अर्थशास्त्रीहरु बताउँछन् । फेडले ब्याजदर बढाउँदा भारत सहित विश्वभरी रहेको अमेरिकी लगानी (पोर्टफोलियो) अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको छ ।
मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरिरहेका छन् । सोहीबीच अमेरिकी केन्द्रीय बैंकले पनि ब्याजदर बढाउँदा डलर थप बलियो बनेको हो ।
यसका साथै रुस–युक्रेन युद्धका कारण तेल र ग्याँसको आपूर्ति सहज नहुँदा युरोपियन अर्थतन्त्र कमजोर बनेका कारणले पनि डलर महँगिएको अथर्एवीदहरु बताउँछन् । त्यस्तै विश्वभरी बढ्दो महँगीको लाभ समेत डलर हुने गरेको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाको भनाइ छ । उहाँले डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँमा वा डलरमा आयात गर्दा मुल्य बढेर व्यापार घाटा झनै बढ्ने जोखिम हुन्छ । यसको साथै डलरको मूल्यवृद्धिले मुद्रास्फीतिमा थप चाप पर्ने उनको तर्क छ । ‘डलरको मूल्य बढ्दा नेपाल सरकारको वैदशिक ऋणको दायित्व समेत बढेर गै बजेट घाटा समेत थप बढ्ने जोखिम थापाले औल्याउनु भयो ।
तर यस को विपरित नेपालमा रेमिट्यान्सको आगमन बढने, पर्यटनको आगमन वृद्धि हुने र वस्तुको निर्यात बढाउन सक्दा भने डलर महँगो पनि अर्थतन्त्रलाई सकारात्मक प्रभाव पर्ने अर्थशास्त्रीहरु बताउनु हुन्छ ।