बेलहिया,रुपन्देही । खुल्ला सिमानाको फाइदा उठाउँदै चोरी तस्करी बढ्दासमेत स्थानीय प्रशासनले नियन्त्रणका लागि पहल नगरेको भन्दै रुपन्देहीको सीमा क्षेत्रका व्यवसायीले स्थानीय प्रशासनको आलोचना गरेका छन् ।
उद्योग व्यापार सङ्गठन, रूपन्देहीको १५औँ वार्षिक साधारणसभामा कार्यक्रमका नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकलाई आत्मनिर्भर बनाउन सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।”
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष ओमकार गौचनले खुलेआम चोरी तस्करी भइरहदा पनि प्रहरी प्रशासनले नियन्त्रणमा पहल नै नगरेको बताउनुभयो ।
गौचनले सीमापारी सुनौलीमा चाडपर्वका बेला करोडौँको व्यापार हुँदा सीमावारी नेपाली बजार भैरहवा क्षेत्रका व्यवसायीको व्यपार नै नहँुदा मारमा परेको बताउनुभयो ।
उहाँले अब यस्तै अवस्था रहने हो भने केही दिनमै सयौँ व्यावसायिले व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था हुने पनि बताउनुभयो । ८० वर्षीय गौचनले चार दशकको व्यावसायिक जीवनमा सबैभन्दा बढी चोरी तस्करी यतिबेला भइरहेको भन्दै स्थानीय प्रहरी प्रशासनको चर्को आलोचनासमेत गर्नुभएको छ । उहाँले भन्नुभयो, “सीमापारीबाट जे सामान ल्याए पनि कुनै रोकतोक गरिँदैन । सीमावारी भैरहवाको व्यापार चौपट भएको छ । अरु केही नगरे पनि भन्सारको सङ्क्षिप्त प्रज्ञापनपत्र भरेर मात्रै ल्याउने व्यवस्था गरौँ ।”
कार्यक्रममा उद्योग व्यापार सङ्गठन रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले सीमावर्ती क्षेत्रमा प्रहरी प्रशासनले कडाइ नगर्ने हो भने भैरहवाका धेरै पसल बन्द गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“मान्छे सीमापारी जान रोक्न सकिँदैन तर, सीमापारीबाट भन्सार नगरेको सामान रोक्ने र नियन्त्रण गर्ने काम नगरेर प्रशासन रमिते बनेर बसेको छ ।”
भण्डारीले कानुन अनुसार सङ्क्षिप्त प्रज्ञापनपत्र नभरी सामान नेपाल ल्याउन नपाइने प्रणालीलाई लागू गर्नसमेत माग गर्नुभयो । जिल्लाको मर्चवार, केवटलिया, पीपरिहिया, भगवानपुर, चनौली बगाह, कालिदह, बगौँली, चन्नी, करौँता, थुमुहवा पीपरहवा, मुडुलालगायतका नाकाबाट दैनिक चोरी तस्करी गरेर दाल, तेल र चामललगायतका सामान भित्रिरहेका छन् ।
रहवा मूल भन्सार नाका अगाडिबाट घरायासी समान भन्दै दिनहुँ हजाराँै मानिसले भन्सार नतिरी सामान ल्याउने गरेको ब्यवसायिहरुको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सीमापारी किनमेलको जाने मानिस रोक्न नसकिँने बताउँदै व्यवसायीको सुझाव र गुनासोलाई आत्मसात गर्दै सुरक्षा सतर्कतामा विशेष ध्यान दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षागस्ती बढाउने, घरायासी प्रयोजनका लागि भारतीय बजारमा जाने संस्कारलाई निरुत्साहित गर्ने काम अगाडि बढाउने, सीमापारीबाट भन्सार नगरी ल्याएको समान खरिद गर्ने प्रचलनलाई रोक्नुपर्दछ ।”
उद्योग व्यापार सङ्गठन, रूपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले सीमा क्षेत्रका व्यापारी सीमा क्षेत्रको चोरी तस्करीका कारण मारमा परेको बताउनुभयो । रूपन्देही जिल्लाको उद्योगी व्यवसायीको क्रियाशील सक्रिय रहेको उद्योग व्यापार सङ्गठनमा जिल्लाका करिब पाँच हजार व्यवसायी दर्ता रहेका छन् । कार्यक्रममा सङ्गठनको स्तरवृद्धिमा अतुलनीय योगदान पु¥याएका छ जनालाई सम्मान गरिएको थियो ।
मा प्रकाशित