स्पेनी राजाको नेपाल भ्रमणको चाहना

आर्थिक परिवेश

काठमाण्डौ । नेपालसंग पुरानो सम्बन्ध भएको युरोपेली मुलक स्पेनका राजा फिलिपे छैठौंले नेपाल भ्रमणको चाहना व्यक्त गर्नु भएको छ ।
नेपाली राजदूतका रुपमा नियुक्त डा. शर्मिला पराजुली ढकालको ओहोदाको प्रमाणपत्र ग्रहणका क्रममा स्पेनी राजाले यस अघि अनौपचारिक रुपमा नेपालको भ्रमण गरेको स्मरण गर्दै उपयुक्त समयमा पुनः नेपाल भ्रमण गर्ने चाहना गरेको बताउनु भएको हो ।


भेटका क्रममा स्पेनी राजाले नेपालमा कोभिड तथा हालैको बाढी पहिरोका कारण ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै राजदूत ढकालको कार्यकालमा दुई देशबीच परस्परको सहकार्य र सहयोगका आधारमा सम्बन्ध थप सुमधुर हुने विश्वास व्यक्त गर्नु भएको स्पेनस्थित नेपाली दुतावासले जनाएको छ ।
तयस अवसरमा राजदूत ढकालले नेपालमा कोभिड संकटका बेला युरोपियन युनियनका देशमध्ये शुरुवाती चरणमा नै स्पेनबाट मानवीय सहायता प्राप्त भएको भन्दै नेपाल सरकारको तर्फबाट आभार प्रकट गर्नु भयो । उँहाले दुई देशबीचको सम्बन्ध विस्तारमा आफ्नो योजना तथा कार्यक्रमबारे स्पेनी राजालाई जानकारी गराएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।
भेटका क्रममा राजासँगै त्यहाँको परराष्ट्र मन्त्रालयका सचिवसँगै अन्य विशिष्ट अधिकारीहरुको सहभागीता रहेको दूतावासले उल्लेख गरेको छ ।

मा प्रकाशित