बीरगंज । आयातमा गरिएको कडाईका कारण एकीकृत भन्सार जाँच चौकी आईसिपी बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७९÷०८० को ३ महिनामा तोकिएको लक्ष्य भन्दा ३० प्रतिशत कम राजस्व असुली गरेको छ ।
बीरगंज भन्सार कार्यालय आईसिपीले चालु आर्थिक बर्षको साउन, भदौ, असोज महिनामा ३९ अर्ब ६२ करोड ६३ लाख १९ हजार रुपैयाँ राजस्व असुली गरेको छ । भन्सार विभागले बीरगंज भन्सार कार्यालयलाई ३ महिनामा ५६ अर्ब ३७ करोड ८६ लाख ९९ हजार राजस्व असुलीको लक्ष्य तोकेको भए पनि लक्ष्य भन्दा झण्डै ३० प्रतिशत कम राजस्व असुली भएको छ ।
३ महिनामा आयातमा गरिएको कडाईका कारण लक्ष्य भन्दा १६ अर्ब ७५ करोड २३ लाख ८० हजार कम राजस्व असुली भएको छ । गत आर्थिक बर्ष २०७८÷७९ को यसै अवधीमा ५३ अर्ब ६ करोड ९२ लाख राजस्व असुली भएको थियो । गत बर्षको तुलनामा यस बर्ष १३ अर्ब ४४ करोड २९ लाख कम राजस्व उठेको वीरगंज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक बर्षको ३ महिनामा बीरगंज नाकाबाट हुने मालवस्तुको आयात निर्यात घटनुको साथै भन्सारको यार्डमा अहिले पनि १८ सय भन्दा बढि नयाँ गाडी जाँचपास हुन नसकेर थन्किएको कारण राजस्व असुली प्रभावित भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडालले बताउनु भयो ।
बीरगंज भन्सार कार्यालयको यार्डमा अहिले झण्डै ९ अर्ब रुपैयाँ बराबरको गाडी थन्किएर बसेका छन् ।
त्यसैगरी सरकारले ड्राइ फुड, प्लाष्टिक जन्य खेलौना आदि मालवस्तुको आयातमा लगाएको प्रतिबन्धले पनि राजस्व असुली कम भएको प्रमुख भन्सार अधिकृत चुडालले बताउनु भयो । यसैगरी वीरगंज भन्सार कार्यालयले ३ महिनामा भन्सार राजस्व तर्फ १४ अर्ब ११ करोड ९८ लाख २८ हजार राजस्व असुली गरेको छ भने मुल्य अभिबृद्धि कर तर्फ १७ अर्र्ब ३३ करोड २८ लाख १८ हजार र अन्त शुल्क तर्फ ३ अर्ब २८ करोड ६० लाख ६६ हजार राजस्व असुली गरेको भन्सार कार्यालयले जनाएको छ ।
समीष अवधीमा बीरगंज भन्सार कार्यालयले पूर्वाधार कर तर्फ २ अर्ब ७० करोड १९ लाख १५ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्क तर्फ २३ करोड ७९ लाख ८९ हजार असुली गरेको छ । कार्यालयले सडक मर्मत तथा सुधार दस्तुर तर्फ ७३ करोड ७० लाख ६० हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा ५० करोड ३१ लाख ४१ हजार राजस्व असुल गरेको बीरगंज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।
मा प्रकाशित