अब दैनिक तीन सय ८६ मेगावाट बिजुली भारत निर्यात हुने

आर्थिक परिवेश

काठमाण्डौ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भए संगै अव नेपालबाट दैनिक ३ सय ८६ मेघावाट विद्युत भारत निर्यात हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली २२ मेगावाट भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिनु भयो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली भारत निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त दिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि यसअघि नै प्रस्ताव गरेको थियो ।

प्राधिकरणले विभिन्न चार जलविद्युतगृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको थियो ।

निजी क्षेत्रले निर्माण गरेका २९ मेगावाट क्षमताको लिखुखोला ए, २५ मेगावाट क्षमताको काबेली बी–एक, २२ मेगावाटको माईखोला, १५ मेगावाट क्षमताको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत्गृहबाट उत्पादित एक सय मेगावाट क्षमताको विद्युत निर्यातको प्रस्ताव गरिएको थियो।

प्राधिकरणले त्यसअघि ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, २४ मेगावाटको लिखूखोला ‘ए’, २३ दशमलव ५ मेगावाटको सोलुखोला, २२ मेगावाटको चिलिमेको विद्युत्गृहबाट उत्पादित एक सय ११ मेगावाट क्षमताको विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेस गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुने विश्वास गरेको बताउनु भयो ।

चिलिमेको अनुमतिसँगै अब दैनिक तीन सय ८६ मेगावाट बिजुली भारत निर्यात हुने भएको प्राधिकरणका प्रवक्ता भट्टराईले जानकारी दिन् भयो । गत असोज २५ गतेसम्म भारतर्फको विद्युत् निर्यात एक अर्ब युनिट नाघेको प्राधिकरणले जनाएको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी त्यस अवधीमा सात अर्ब ९३ करोड २२ लाख खुद आम्दानी गरेको थियो । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य सात रुपैयाँ ९१ पैसा रहेको प्राधिकरणले जनाएको छ ।

सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आईएक्समा बिक्री गरिएको थियो ।

त्यसपछि २७ गतेदेखि विभिन्न ६ वटा जलविद्युत्गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री भइरहेको छ ।

आईएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको पनि प्राधिकरणले जनाएको छ।

 

मा प्रकाशित