काठमाण्डौ । पछिल्लो १० महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या उल्लेखनीय रुपमा बढेको छ । सन् २०२२ को पछिल्लो १० महिना अक्टोबर सम्ममा झण्डै ५ लाख विदेशी पर्यटकहरुले नेपालको भ्रमण गरेका छन् ।
अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डको तथ्यांक अनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक नेपाल आएका छन् । सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए ।
यससँगै जनवरीदेखि अक्टोबरसम्म कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक भित्रिएको तथ्यांकमा देखिएको छ ।
अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । भारतबाट १६ हजार ९१० पर्यटक आएका छन् ।
अमेरिकाबाट यस महिनामा ११ हजार ८५९ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । बेलायतबाट ७ हजार ११७, जर्मनीबाट ४ हजार ९३५, फ्रान्सबाट ४ हजार ९२९, अष्ट्रेलियाबाट ३ हजार ९४६, बंगलादेशबाट २ हजार ७२० जना पर्यटक अक्टोवर महिनामा नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । पछिल्लो समय नेपालमा आन्तरिक तथा वाहय पर्यटकको संख्या बढ्नु रामो भए पनि हालको होटलहरुको अकुपेन्सीको आधारमा भने होटलहरु अझै पनि संचालन घाटाको अवस्थामा रहेको होटल व्यवसायीहरुले बताउनु भएको छ ।
होटलहरु संचालन नाफामा पुग्नका लागि ३८ प्रतिशत अकुपेन्सी हुनु पर्ने हुन्छ । हालको होटलहरुको अकुपेन्सी २५ प्रतिशत मात्र रहेको होटल एशोसिएसन अफ नेपाल हानले जनाएको छ ।
होटल एशोसिएसन अफ नेपाल हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले निर्वाचन सके लगतै बन्ने सरकारले यस अघि नै सरकारले घोषणा गरेको पर्यटन दशकलाई प्रभावकारी रुपमा अघि बढाउन पहल गर्नु आवश्यक भएको बताउनु भयो । उहाँले हाल नेपालमा पर्यटकहरुका लागि आवश्यक पूर्वाधारहरुमा क्रमिक रुपमा सुधार हुदै गएकोले पर्यटककलाई आर्कषित गर्ने विभिन्न कार्यक्रमहरु अघि सार्न आवश्यक भएकोमा पनि उहाँले जोड दिनु भयो ।