नेपालमा गत आर्थिक बर्षमा ३ करोड ६८ लाख २८ हजार ६ सय लिटर दूध उत्पादन

आर्थिक परिवेश

काठमाण्डौ । नेपालमा संचालनमा रहेका विभिन्न पशुपालन र्फमहरुबाट गत आर्थिक बर्षमा ३ करोड ६८ लाख २८ हजार ६ सय १ लिटर दूध उत्पादन भएको एक सर्वेक्षणले देखाएको छ ।

विश्व खाद्य तथा कृषि संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागको संयुक्त आयोजनामा गरेको मध्यम तथा ठुला पशुपालन व्यवसायहरुको एकीकृत सर्वेक्षणले देशभरका व्यावसायिक फार्महरुबाट २ करोड ३२ लाख ३१ हजार ९१ लिटर भैंसीको दुध उत्पादन भएको देखाएको छ । यस अवधीमा नेपालमा गाईको दूध भने १ करोड ३५ लाख साढे ९८ हजार लिटर उत्पादन भएको पाइएको छ ।

जात अनुसार तुलना गरेर सर्वेक्षणले मुर्रा जातको भैंसीबाट सबै भन्दा बढी दुध उत्पादन हुने गरेको पाइएको जनाएको छ ।

भैंसीको दुध उत्पादनको दृष्टिकोणले ८३ लाख ८८ हजार १ सय ८३ लिटर दुध उत्पादन गरेर गण्डकी प्रदेश अग्रणी स्थानमा रहेको छ । अध्ययनको क्रममा भैंसीको सरदर दुध दिने अवधि नौ महिना र प्रति भैंसी प्रति दिन सरदर आठ लिटर दुध उत्पादन हुने गरेको पाइएको छ ।

उत्पादित दुध मध्ये गाईको ८९ प्रतिशत र भैंसीको दुध ८५ बिक्री हुने गरेको समेत सर्वेक्षणले देखाएको छ । सर्वेक्षणबाट प्राप्त नतिजा अनुसार,नेपालमा ६ हजार ४ सय ८६ वटा व्यावसायिक पशुपालन फार्महरु रहेका छन् ।

त्यस मध्ये १ हजार २ सय ३३ वटा गाईपालन फार्म, ९ सय १४ वटा भैंसीपालन फार्म, ४३ वटा राँगापालन फार्म, २ हजार २ सय ९५ वटा बाख्रा÷च्याँग्रापालन फार्म,५७२ वटा भेडापालन फार्म,११८ वटा मासु प्रयोजनका लागि र ३६४ वटा पाठापाठी उत्पादनका लागि सुँगुरपालन फार्म रहेको पाइएको छ । सर्वेक्षणको लागि मुलुकभरी जम्मा ७९८ पशुपालन व्यवसायहरु छनोट गरिएको थियो ।

 

मा प्रकाशित