बीरगंज महानगरपालिकाद्वारा निजी विद्यालयहरुको वर्गीकरण र शुल्क निर्धारण अभिभावकलाई राहत

आर्थिक परिवेश

 

वीरगञ्ज । निज विद्यालयहरुले आफूखुशि चर्को शूल्क निर्धाण गरी शिक्षालाई महंगो बनाएको स्थानीयको गुनासो पछि वीरगंज महानगरपालिकाले नगर क्षेत्रका निजी विद्यालयहरुको वर्गीकरण गरी शुल्क निर्धारण गरेको छ ।

गुणस्तरीय शिक्षाको नाममा अभिभावकहरुलाई ढाड सेकाउने गरी चर्को शुल्क लिने निजी विद्यालयहरुको महानगरपालिकाले बर्गीकरण सँगै शुल्क निर्धारण गरेपछि अभिभावकलाई राहत भएको छ ।

वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी नेपालमै पहिलो पटक बीरगंज महानगरपालिकाले नगर क्षेत्रका ५८ वटा निजी विद्यालयहरुको बर्गीकरण गरी शुल्क निर्धारण गरेको बताउनु भयो ।

महानगरपालिकाको निर्णयले आम सर्वसाधारण अभिभावकलाई राहत भए पनि अभिभावकको नाममा गठित संघर्ष समितिले राम्रो कार्यको विरोध गर्दा विचार गर्नु पर्ने बताउनु भयो ।

उहाँले अभिभावकको नाममा कानुन विपरित गठन भएको अभिभावक संघर्ष समितिलाई महानगरपालिकाले मान्यता दिनु पर्ने कुनै कारण नभएको बताउदै संघर्ष समितिको नाममा महानगरको निर्णय भाडन खोज्नेहरुको सर्वसाधारण अभिभावक पछि नलाग्ने दावी समेत गर्नुभयो ।

लामो समयको तयारी पश्चात वीरगञ्ज महानगरपालिकाले बीरगंजका निजी विद्यालयहरुको वर्गीकरण गरेको हो । वीरगञ्जमा सञ्चालित निजी विद्यालयहरुले मनपरी शूल्क उठाइरहेको अभिभावकको गुनासोपछि महानगरले त्यसलाई व्यवस्थित गर्न निजी विद्यालयको वर्गिकरण र शुल्क निर्धारण गरेको सूचना विहिवार सार्वजनिक गरेको थियो ।

विद्यालय वर्गीकरण तथा शूल्क निर्धारणका लागि महानगरले नगर प्रमुख राजेशमान सिंहको संयोजकत्वमा समिति समेत गठन गरेको थियो । समितिमा महानगरका प्रमुख प्रशासकीय अधिकृत, शैक्षिक प्रशासन महाशाखा प्रमुख, शिक्षक अभिभावक समिति, शिक्षाविद लगायत सदस्य रहेका थिए ।

पत्रकार सम्मेलनमा महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले महानगरले विद्यालयहरुको वर्गीकरण नेपाल सरकारको विद्यालय वर्गीकरण निर्देशिकाको १ सय ३० भन्दा बढी सूचकलाई आधार मानेर गरेको बताउनुभयो ।

सूचकअनुसार ८० भन्दा बढी अङ्क ल्याउने विद्यालयलाई ‘क’ वर्गमा राखिएको छ ।

बीरगंजका क बर्गमा पर्ने विद्यालयहरुमा ज्ञानदा एकेडमी, गौतम सेकेण्डरी स्कूल, नेशनल इन्फोटेक माध्यमिक विद्यालय, डी.ए.भी. आर.भी केडिया, लिटिल फ्लावर सेकेण्डरी शूल्क र जी.एच.पी. माध्यमिक विद्यालय परेका छन ।

क बर्गमा पर्ने विद्यालयले नर्सरी कक्षामा अध्ययनरत विद्यार्थीसँग मासिक रुपमा अधिकतम २ हजार ९६ रुपैयाँ र १२ कक्षामा अध्ययनरत विद्यार्थीसँग अधिकतम ४ हजार ६ सय ४ रुपैयाँ उठाउँन सक्ने छन् । यी विद्यालयहरुले ८३ देखि ८० अङ्क ल्याएको कर्णले जानकारी दिनुभयो ।

त्यसैगरी ख वर्गमा ज्ञान ज्योति उच्च मावि, मिराकल किड्स स्कूल, कादम्बरी एकेडमी, विद्यासदन माध्यमिक विद्यालय, मनकामना मावि, साउथ जोन, ग्यालेक्सी एकेडेमी लगायतका २४ वटा विद्यालय रहेका छन ।

त्यसैगरी २७ वटा विद्यालयलाई ग वर्गमा र घ वर्गमा एउटा मात्रै विद्यालय परेको छ । ख वर्गमा पर्नेले नर्सरी कक्षामा अधिकतम १ हजार ८ सय ६० देखि १२ कक्षामा अध्ययनरत विद्यार्थीसँग ४ हजार १२ रुपैया उठाउन सक्ने छन ।

त्यसरी नै ग वर्गमा पर्ने विद्यालयले नर्सरी कक्षामा अध्ययनरत विद्यार्थीसँग मासिक अधिकतम १ हजार ५ सय ५० रुपैयाँ र १२ कक्षामा अध्ययनरत विद्यार्थीसँग अधिकतम ३ हजार ४ सय १० रुपियाँ उठाउन् सक्ने छन् ।

‘घ’ वर्षमा एउटा विद्यालय मात्र परेको छ । यसले नर्सरी कक्षामा अध्ययनरत विद्यार्थीसँग मासिक अधिकतम १ हजार ७ सय ५ रुपैयाँ र १२ कक्षामा अध्ययनरत विद्यार्थीसँग अधिकतम २ हजार ७ सय ५१ रुपैयाँ शूल्क उठाउँन सक्ने पत्रकार सम्मेलनमा जनाईएको छ ।

मा प्रकाशित