अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरेको छ राष्ट्रपति भण्डारी

आर्थिक परिवेश

रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यापार घाटा बढ्दै गइरहेको र निर्यात कम भई आयात नियन्त्रण नभएकाले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताउनुभएको छ ।

बिहीबार बुटवलमा रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५ औँ औद्योगिक प्रदर्शनी समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो चुनौती सामना गर्न सबै क्षेत्रको समन्वय आवश्यक रहेको बताउनुभएको हो । ‘व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सञ्चितीमा चाप परेकोले अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरेको छ, सबै मिलेर यसलाई लयमा फर्काउनुपर्ने छ । ’ उहाँले भन्नुभयो ।

आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडीबुटीजन्य उद्योग स्थापनामा जोड दिएर निर्यात बढाउनुपर्ने बताउँदै उहाँले भन्नुभयो । ‘अब जडीबुटीजन्य एवं वन पैदावारमा आधारित उद्योग स्थापनातर्फ केन्द्रित हुन र निर्यात बढाउने दिशामा लाग्न म सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु । ’

राष्ट्रपति भण्डारीले खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादनलाई बढाउन सके व्यापार घाटा कम गर्न सकिने बताउँदै यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न, गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको थप विकास गरेर पर्यटन प्रवद्र्धनमा ध्यान दिन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । “विमानस्थललाई व्यवस्थित रूपले सञ्चालन गर्न सके यस क्षेत्रको औद्योगिक विकाससँगै पर्यटन क्षेत्रको विकासले पनि गति लिन्छ, यसका लागि सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी छ”–उहाँले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले सेवा प्राप्त गरुन् भन्नेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै महिलाहरूलाई उद्यमशीलताबाट स्वावलम्बन गराउन आग्रह गर्नुभयो । उद्योग क्षेत्रको विकासको लागि सबैको हातेमालो जरुरी रहेको बताउँदै राष्ट्रपति भण्डारीले स्वदेशी वस्तुको उत्पादन र प्रयोग राज्यका सबै निकायले ध्यान दिनुपर्ने योजना बनाउन आग्रह गर्नुभएको छ ।

मा प्रकाशित