काठमाडौँ । पोखरामा आज भएको यति एयरलाइन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै सबै भन्दा ठूलाे दुर्घटना रहेकाे पाइएको छ ।
आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
यस अघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए ।
फाइल फाेटाे
नेपालमा भएको ठूलो दुर्घटना
नेपाली आकासका भएको अहिलेसम्मकै ठूलो दुर्घटना भने सन् १९९२ मा भएको थियो । ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरको जहाज दुर्घटना हुँदा १६७ जना यात्रुको ज्यान गएको थियो । सोही वर्ष थाई एयरको जहाज दुर्घटनामा ११३ यात्रुले ज्यान गुमाएका थिए ।
पछिल्लो पटक सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बङ्ला कम्पनीको जहाज दुर्घटनामा गर्दा ५१ जना यात्रुको ज्यान गएको थियो । अहिलेसम्म नेपालमा १० वटा विदेशी मुलुकका जहाज दुर्घटनामा परेका छन् र ३७३ जना यात्रुले ज्यान गुमाएका छन् ।
तर, यी अन्तर्राष्ट्रिय उडानका विमान दुर्घटना थिए, आन्तरिकतर्फ आइतबार पोखराको विमान दुर्घटना इतिहासकै ठूलो क्षति गरेको दुर्घटना हो ।
पहिलो एटीआर दुर्घटना, धेरै जनाकाे मृत्यु
एटीआर जहाज, नेपालमा सबभन्दा सुरक्षित मानिन्छ । नेपालमा बुद्ध एयरसँग सबभन्दा धेरै १४ वटा र यति एयरलाइन्ससँग ६ वटा एटीआर जहाज छन् । यो एटीआर ७२-५०० विमान थियो ।
तर आइतबार त्यही जहाज दुर्घटनामा पर्यो । यसले मृतकको संख्या पनि धेरै भएको छ । नेपाली सेनाका अनुसार विमानमा सवार ७२ मध्ये अहिलेसम्म ६२ जनाको मृत्यु पुष्टि भइसक्यो भने अरुको उद्धार चलिरहेको छ ।
नेपालको आन्तरिक उडानमा भएको दुर्घटनामा मृतकको यो संख्या अहिलेसम्मकै ठूलो हो ।
मा प्रकाशित