४ माघ, काठमाडौं । सरकारले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा यो वर्षको बिक्री मूल्य निर्धारण गरेको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको र ७० रुपैयाँ सरकारले ढुवानीका लागि अनुदान दिने निर्णय भएको जानकारी दिए ।
गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ तोकेको थियो भने ढुवानी वापतको अनुदान रकम ७० रुपैयाँ नै कायम गरेर कुल मूल्य ५९० रुपैयाँ प्रति मेट्रिकटन बनाएको थियो ।
अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपैयाँले वृद्धि गरेर नयाँ मूल्य तोकेको हो ।
सरकारले यसअघि आर्थिक वर्ष (आव) ०७७/७८ मा उखुको बिक्री मूल्य ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।
कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलकाअनुसार उत्पादन लागतमा २० प्रतिशत नाफा किसानलाई निश्चित गरेर नयाँ मूल्य तोकिएको हो । उनकाअनुसार ५४० रुपैयाँ क्विन्टलमा उद्योगीले अब किसानसँग उखु किन्नु पर्नेछ । बाँकी ७० रुपैयाँ भने किसानलाई सरकारले दिएको अनुदान हो ।
किसान असन्तुष्ट
सरकारले तोकेको उखुको मूल्यमा किसानहरु भने असन्तुष्ट छन् । किसान प्रतिनिधिहरुले पछिल्लो केही वर्षमा बढेको चिनीको मूल्यका आधारमा उखुको मूल्य तोक्नु पर्ने माग गरिरहेका थिए ।
उखुको मूल्य प्रतिक्विन्टल ७ सय रुपैयाँ तोक्न माग गरिए पनि कृषि मन्त्रालय ५३५ रुपैयाँबाट माथि नगए पछि थप वार्ता नै नगरिएको उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।
‘चिनीको मूल्यको आधारमा उखुको मूल्य तोक्न भनेका थियौं,’ मैनलीलले भने, ‘हाम्रो कुरा सुनुवाइ गरेजस्तो गरेर ५ रुपैयाँ थपिदिएछन् ।’ उद्योगपतिको कुरा सुनेर सरकारले निर्णय गरेको भन्दै उनले किसान सरकारकै कारण मारमा परेको बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार आव २०७७/७८ मा नेपालमा ३१ लाख ६० हजार मेट्रिकटन उखु उत्पादन भएको थियो ।
नेपालमा चिनीको माग र आपुर्तिको अवस्था
उद्योग विभागले गरेको एक अध्ययनको अनुसार नेपालमा प्रतिव्यक्ती प्रतिवर्ष ४ देखी ६ के जी चिनी खपत हुने अनुमान गरिएको छ। सो खपतको आधारमा नेपालमा चिनीको सरदर वार्षिक माग २ लाख ३० हजार मेट्रीक टन रहेको छ ।
जसमध्ये ६५ प्रतिशत घरायसी प्रायोजनको लागि र ३५ प्रतिशत औद्योगिक प्रायोजनको लागि उपयोग हुने अनुमान गरिएको छ। हाल संचालनमा रहेका उद्योगहरुको वार्षिक चिनी उत्पादन क्षमता ४६३९५० मे.ट. रहेतापनि अधिकाशं उद्योगहरु पुर्ण क्षमतामा संचालन भएका छैनन।
केन्द्रीय तथ्यांक विभागले गरेको बार्षिक घरधुरी सर्वेक्षण प्रतिवेदन २०७२/७३ अनुसार नेपालमा सरदर प्रतिव्यक्ति चिनीको उपभोग ८.० केजी रहेको देखिन्छ।
नेपाल चिनी उद्योग संघका अनुसार नेपालमा चिनीको बार्षिक माग करीब २ लाख ५० हजार मे.टन रहेको जसमध्ये नेपालको आन्तरीक उत्पादनले उपभोक्ताको करीब ७१ प्रतिशत माग धान्न सक्ने अवस्था रहेको छ ।
नेपालमा संचालनमा रहेका चिनी उद्योग र तिनको अवस्था
नेपालमा संचालनमा रहेका चिनी उद्योग १३ रहेता पनि उद्योग विभागको दर्ता अभिलेख अनुसार खाडसारीसहित चिनी उद्योगहरुको संख्या ३१ रहेको छ ।
हालसम्म दर्ता भएका सबै उद्योगको हिसाब गर्नेहो भने यी उद्योगले बार्षिक रुपमा ९ लाख ३ हजार १५५ मे.टन चिनी उत्पादन गर्ने क्षमता राख्दछन् ।
तर उद्योग विभागले दिएको जानकारी अनुसार हाल १५ वटा उद्योगहरु संचालनमा रहेको छ र दर्ता भएका नयाँ उद्योगको गणना नगर्दा पनि उद्योगहरुको चिनी उत्पादन क्षमता ४ लाख ७७ हजार ४५० मे.टन रहेको छ ।
हाल नेपालमा संचालित उद्योग धेरै जसो पूर्ण क्षमतामा संचालनमा भैरहेका छैनन। यदि चिनीको प्रतिलब्धिता प्रतिशत हालको हाराहारीमा रहने हो र सबै दर्ता भएका उद्योगहरु संचालनमा आउने हो भने पूर्ण क्षमतामा चल्न करीब १० करोड मे.टनको हाराहारीमा उखु आवश्यक पर्दछ, जुन हालको क्रसिङ्ग परिमाण भन्दा झण्डै ५ गुणा बढी हो । नेपालमा आत्मनिर्भरताको दृष्टिले मात्रै हेर्ने हो भने चिनी उत्पादनको कुल जडित क्षमता देशको आवश्कयता भन्दा अत्याधिक धेरै हुन आउँछ ।
उखु तथा चिनी सम्बन्धी विद्यमान समस्याहरु
देशमा व्यवसायिक रुपमा उखु खेती विस्तार गरी उच्च उत्पादकत्व सहितको गुणस्तरीय उत्पादनको लक्ष्य प्राप्त हुने सम्भावना उच्च देखिन्छ। नेपालमा उत्पादन हुने नगदेवालीहरुमध्ये प्रमुख वालीको रुपमा रहेतापनि उखुवाली उत्पादन तथा वजारीकरणमा केहि समस्याहरु टड्कारो रुपमा देखा परिरहेका छन। तीमध्येप्रमुखसमस्याहरु देहायबमोजिम उल्लेख गरिएको छ ।
न्यून उत्पादकत्व
नेपालमा उखुको उत्पादकत्व कमि हुनुका विभिन्न कारणहरु रहेका छन, जसलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।
उच्च उत्पादकत्व दिन सक्ने उखुका नयाँनयाँ जातहरुको विकास तथा प्रसारमा सोचेजति प्रगति हाँसिल हुन सकिरहेको छैन जसले गर्दा कृषकहरुले अझैपनि नयाँ नयाँ गुणस्तरीय जातहरुको प्रयोग गरी उखु उत्पादन गर्न सकिरहेका छैनन।
अन्य बालीहरुको तुलनामा उखुबालीलाई माटोवाट पाइने खाद्यतत्वहरु (नाइट्रोजन, फस्फोरस, पोटास आदि) को वढी आवश्यकता पर्ने गर्दछ। त्यस्ता आवश्यक खाद्यतत्वका स्रोतहरु रासायनिक तथा प्रांगारिक मलखाद समयमा यथोचित परिमाणमा उपलव्ध हुन नसक्नु र कृषकहरुले आवश्यकता अनुसार प्रयोग नगर्नु उत्पादकत्व कमि हुनुको एक प्रमुख कारणमा पर्दछ।
उत्पादकत्व न्यून हुनु सिंचाइ सुविधाका अभाव हुनु एक प्रमुख कारण हो । अझैपनि उखु खेती हुने अधिकांश क्षेत्रहरुमा आकाशे भरमा सिंचाइ गर्नुपरिरहेको छ ।
खाद्यतत्व व्यवस्थापन, खेतवारीको सरसफाई, रोगकिरानियन्त्रण, सिँचाईको तरीका तथा निकास, बाली कटाई तथा तत्पश्चातको व्यवस्थापन आदि जस्ता व्यवस्थापकीय कमिकमजोरीहरुले गर्दापनि कृषकहरुले उखु उत्पादनमा आशातित प्रगति हाँसिल गर्न सकिरहेका छैनन।
मा प्रकाशित