गत बर्ष राष्ट्रिय प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप २६८९ मेगावाट राष्ट्रिय प्रणालीमा

आर्थिक परिवेश

३ बैशाख,काठमाडौं।  गत वर्ष २०७९ भरीमा मुलुकको राष्ट्रिय प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप भएको छ ।

प्रणालीमा बिजुली थप हुने क्रम क्रमजारी रहेको र यही अवस्था कायम रहे आगामी असार मसान्तसम्म मुलुकको कूल विद्युत जडित क्षमता करिब तीन हजार मेगावाट बराबर पुग्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले हालसम्म दुई हजार छ सय ८९ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिइसकेको जनाएको छ ।

आगामी असारसम्म थप १५ आयोजना निर्माण सम्पन्न हुनेछन । गत वर्षभरी १९ वटा आयोजना पूर्ण रुपमा सञ्चालनमा आएर उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोडिएको छ । त्यस्तै, नौ वटा आयोजना परीक्षणको अन्तिम चरणमा पुगेका छन् ।

ती आयोजनाको बिजुली समेत प्रणालीमा जोडिसकेको छ । यो वर्ष प्रणालीमा जोडिएको जलविद्युत् परियोजनामध्ये निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो आयोजना हो सोलुखोला दूधकोशी ।  साहस ऊर्जाले निर्माण गरेको सो आयोजनाले गत फागुन १७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो ।

प्रणालीमा जलविद्युत् आयोजनाका अलावा सौर्य परियोजनासमेत जोडिएका छन् निर्माणका क्रममा रहेका तीन हजार दुई सय ८० मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन् ।

ती सबै आयोजना निर्माण सम्पन्न हुँदा प्रणालीमा झण्डै सात हजार मेगावाट बराबर बिजुली पुग्नेछ । प्राधिकरणले आगामी वर्षायाममा झण्डै एक हजार दुई सय मेगावाट बराबरको बिजुली बिक्रीका लागि तयारी गरिरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कूल एक सय ११ मेगावाट क्षमताको रसुवागढी, माथिल्लो र तल्लो साञ्जेन ५७ मेगावाट र एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा जोडिएपछि त्यसले थप सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।

मा प्रकाशित