१४ वैशाख,काठमाडाै । नेपालमा चियाको खपत र उपभोग बढ्दै जाँदा यहाँका विभिन्न २० जिल्लामा हाल व्यवसायिकरुपमा चिया खेती विस्तार भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा नेपालमा २० हजार दुई सय १९ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २६ हजार तीन सय ७९ मेट्रिक टन चिया उत्पादन भएको छ ।
हाल १५ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाको विभिन्न मूल्य शृङ्खलामा संलग्न रहेका छन् ।
नेपालले अधिकांश उपभोग्य वस्तु आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफैँ उत्पादन गरी भारतलगायत तेस्रो मुलुकमा समेत नेपाली चिया निर्यात भइरहेको छ ।
वार्षिक करिब चार अर्ब मूल्य बराबरको चिया निर्यात हुँदै आएकामा अहिलेकै उत्पादन परिमाण कायम रहँदा पनि त्यसलाई बढाएर १० अर्बदेखि १२ अर्ब रुपैयाको निर्यात मूल्य बनाउन सकिने सम्भावना नेपाली चियाले बोकेको छ ।
आव २०७६÷७७ मा दुई अर्ब ७८ करोड २८ लाख रुपैया बराबरकाे ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएकामा २०७७÷७८ मा तीन अर्ब ७९ करोड ७१ लाख रुपैया बराबरको ११ हजार नौ सय २० मेट्रिक टन चिया निर्यात भएको थियो ।
त्यसतै आव २०७८/७९ मा भने तीन अर्ब ४३ करोड ४३ लाख रुपैया बराबरको १२ हजार चार सय ९४ मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
आव २०७६/७७ मा सात करोड ७३ लाख ९७ हजाररुपैया बराबरको दुई सय १८ मेट्रिक टन चिया आयात भएकाेमा २०७७÷७८ मा १५ करोड १३ लाख १२ हजार रुपैया बराबरको तीन सय ४६ मेट्रिक टन चिया आयात भएको छ भने आव २०७८÷७९ मा आठ करोड ३६ लाख ४५ हजार रुपैया बराबरको दुई सय तीन मेट्रिक टन चिया आयात भएको छ ।
त्यस्तै आव २०७७÷७८ मा नेपालमा चियाको आन्तरिक खपत ११ हजार आठ सय २५ मेट्रिक टन रहेकामा आव २०७८÷७९ मा बढेर १३, हजार आठ सय ८५ मेट्रिक टन पुगेको छ । यसले गर्दा अघिल्ला वर्षमा भन्दा चियाको आयात पनि ४० प्रतिशतभन्दा बढीले घटेको छ ।
विदेशी मुद्रा आर्जन र ग्रामीण अर्थतन्त्रको मुख्य आधार रहेको चिया उद्योगका अगाडि गुणस्तरीय उत्पादन, अन्तर्राष्ट्रिय बजार, व्यावसायिक तथा दिगो खेती प्रविधि, अनुसन्धान एवं विकासका थुप्रै चुनौती रहेको बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो
नेपाली चियाको ९० प्रतिशतभन्दा बढी निकासी भारतमा
नेपाली चियाको ९० प्रतिशतभन्दा बढी अश निकासी भारतमा हुने गरेकाे छ । तर प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधा व्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चिया कमसल रहेको तथा मिसावटयुक्त रहेको जस्ता आरोप खेप्नुपरेको छ । यसले नेपाली चिया गुणस्तरमा अब्बल हुँदाहुँदै पनि अति नै न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताका कारण नेपाली चिया क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न सकिरहेको छैन ।
उत्पादन सुरु भएको डेढ सय वर्ष नाघिसक्दा पनि नेपालमा चियाको उत्पादन तथा प्रशोधन प्रविधिसम्बन्धी विषयमा आवश्यकअनुसन्धानात्मक कार्य नहुँदा नेपालको आफ्नै चियाको जात एवं प्रविधि विकास हुन सकिरहेको छैन ।
यस्तै चिया क्षेत्रमा आवश्यक बिजुली तथा सिँचाइ पूर्वाधारको कमी, भन्सार नाकामा निर्यात प्रवद्र्धनका लागि आवश्यक द्रुतगतिमा नतिजा दिन सक्ने अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रयोगशाला नहुनु, अति नै न्यून विनियोजित स्रोतसाधनलगायत अन्य कृषिजन्य उद्योगसरह सहुलियत ऋणलगायतका सुविधाबाट नेपाली चिया क्षेत्र वञ्चित हुनुपरेको छ ।
बढ्दो व्यापार घाटा कम गर्न चियाको गुणस्तरीय उत्पादनमा वृद्धि गरी निर्यात गर्नुको विकल्प छैन । हाल भारत, श्रीलङ्कालगायतका राष्ट्रले चियामा भ्यालुएड गरी प्रतिस्पर्धी बजारमा आफ्नो स्थान सुरक्षित गरिरहेका छन् ।
नेपालले पनि आम उपभोक्ताको मागअनुसार सङ्ख्यात्मक उत्पादनमा मात्रै नभएर तयारी चियाको विशिष्टीकृत गुणस्तरमा ध्यान दिन अति जरुरी देखिन्छ ।
कार्यकारी निर्देशक भट्टराईले नेपालले पनि आन्तरिक बजार प्रवद्र्धन गरी खुला बजार नीतिअनुरूप दीर्घकालीन समस्या समाधानका लागि चीन, रुस, अमेरिका, युरोपियन राष्ट्रसँग सम्झौता गरी त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगमार्फत नेपाली चियाको ब्राण्ड प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मा प्रकाशित