३१ जेठ,काठमाण्डौ । नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुने भएको छ ।
सम्मेलन २–५ असारसम्म काठमाडौं नयाँ बजारमा हुने भएको हो ।
नेपाल कफी व्यवसायी महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युरोपियन युनियनको सहयोगमा सञ्चालित व्यापार तथा लगानी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त सम्मेलन तथा प्रदर्शनीको आयोजना गर्न लागिएको हो ।
नेपाली कफीको माग स्वदेशी तथा विदेशी बजारमा व्यापक रूपमा बढ्दै गए पनि यसको उत्पादन तथा निर्यात बढाउन नसकिएको अवस्थामा यस क्षेत्रको समग्र मूल्य श्रृङ्खलालाई मजवुत बनाउने उपायहरूको खोजी गर्नेछ ।
सम्मेलनकाे माध्यमबाट अवसरको पहिचान गर्न सम्मेलन तथा प्रदर्शनी नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओम अधिकारीले जानकारी दिनु भयो ।
नेपालमा कुल १२ लाख हेक्टर जमिनमा कफी खेती गर्न सकिने भए पनि केवल ३३०० हेक्टरको हाराहारीमा मात्र कफि खेती हुने गरेको छ ।
नेपालमा वार्षिक कुल ३५० टनको हाराहरीमा उत्पादन र औपचारिक तरिकाले त्यतिनै मात्रामा आयात हुने गरे पनि खपत भने २१०० टन जति हुने गरेको कफि व्यवसायीहरुले जनाएका छन् ।
नेपालमा उदाउँदो निर्यातमूलक क्षेत्रको रूपमा रहेको कफी व्यवसायले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २० हजार भन्दा बढीलाई रोजगारी दिंदै आएको महासंघका महासचिव सन्तोष पोखरेलले जानकारी दिनु भयो ।
नेपालका ४२ जिल्लामा कफी खेतीको सम्भावना भए पनि हाल २२ जिल्लामा मात्र व्यावसायिक कफि खेती हुने गरेको छ ।
मा प्रकाशित