अर्थ मन्त्रालयबाट सचिवहरूकाे स्वागत र बिदाई

आर्थिक परिवेश

१० बैशाख, काठमाडौँ ।  अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुस्कर कर्णको बिदाई र सचिवको जिम्मेवारी सम्हाल्न आउनुभएका सचिव मधु मरासिनीको स्वागत गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्त, राजश्व सचिव डा.रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा अधिकृतभन्दा माथिका अधिकांश कर्मचारी स्वागत तथा बिदाई कार्यक्रममा सहभागी हुनुभएको थियो ।

मन्त्रिपरिषदको सोमबारको बैठकले मरासिनीलाई अर्थमा र पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।

मरासिनी यसअघि पनि अर्थ सचिव हुनुहुन्थ्यो । कार्यक्रममा मन्त्री पुनले लामो सरकारी सेवाका क्रममा जिम्मेवारी हेरफेर हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभयो ।

यस्तै उहाँले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो । असल नियतका साथ गरिएका काम र निर्णयमा समस्या परे कर्मचारीको संरक्षण राजनीतिक नेतृत्वले गर्ने उहाँको प्रतिबद्धता थियो ।

‘राजनीतिज्ञ, प्रशासक वा सार्वजनिक जीवनमा भएका मानिसहरूमाथि आरोप वा टिका टिप्पणी हुन सक्छन्’, मन्त्री पुनले भन्नुभयो, ‘असल नियतका साथ गरिएको काममा समस्या आइपरे राजनीतिक नेतृत्वको तर्फबाट संरक्षण हुने कुराको ग्यारेन्टी गर्छु ।’

उहाँले निजी क्षेत्रको विश्वास जितेर लगानीको वातावरण निर्माणलाई सरकारले प्राथमिकतामा राखेको भन्दै सोहीअनुसार काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

‘निजी क्षेत्रको मनोबल उठाउनुपर्ने छ । बजेटमा हाम्रा नीतिहरू पक्कै पनि त्यसमा केन्द्रित हुनेछन्’, मन्त्री पुनले भन्नुभयो, ‘सिर्जित दायित्वअन्तर्गत खर्च भएका आयोजनाको निकासा दिन र अन्तर मन्त्रालय समन्वयमा ध्यान दिएर खर्च बढाउन मेरो सबैलाई आग्रह छ ।’

मन्त्री पुनले टिममा काम गरेर नतिजा दिनुपर्ने समयमा आफूहरू रहेको बताउनुभयो । कार्यक्रममा सचिवद्वय पुस्कर र मरासिनीले सरकारले दिएको नयाँ जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउनुभयो ।

आफूहरू विगतमा पनि सँगै काम गरेको स्मरण गर्दै उहाँहरूले कार्यक्रममा एक अर्काप्रति सौहार्दता प्रकट गर्नुभयो ।

सचिव मरासिनीले बजेट निर्माणको पूर्व सन्ध्यामा रहेकाले अर्थमन्त्रीको नीतिअनुसार काम गर्न आफ्नो टिम प्रतिबद्ध रहेको बताउनुभयो ।

मा प्रकाशित