नेपालले विश्वसँग प्रतिस्पर्धा गर्ने क्षेत्र नै सूचना प्रविधि भएकाले यसमै ध्यान केन्द्रित गर्नुपर्छ : संचारमन्त्री

आर्थिक परिवेश

२४ असार, काठमाडौँ ।   सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का विज्ञहरूसँगको छलफलका क्रममा उहाँले अब सूचना प्रविधि क्षेत्रलाई अत्यधिक परिचालनमा सहयोग पुग्ने गरी नीति, कानुन र कार्ययोजना बनाउनुपर्ने बताउनुभएको हो ।

आफूले मन्त्रालय सम्हालेपछि सूचना प्रविधिको विकास र प्रयोगलाई गुणात्मक रुपमा अघि बढाउन नीति र कानुन निर्माणमा जोड दिएको पनि उहाँले स्पष्ट गर्नुभयो ।

पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति जारी गर्नेदेखि एआई अवधारणा तयार पार्न चरणसम्म आइपुग्दा सूचना प्रविधिको विकासमा नीतिगत क्षेत्रमा मुलुक धेरै अगाडि बढेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

विश्वब्यापीरुपमा नवीन प्रविधिको रुपमा विकास र प्रयोग हुँदै गएको एआईसम्बन्धी नीति बनाउन अवधारणा पत्र तयार गरिएको जानकारी दिँदै मन्त्री शर्माले अब यसका आधारमा नीति र नीतिका आधारमा कानुन बन्ने बाटो खुलेको बताउनुभयो ।

मन्त्रालय एआई नीतिको तयारीमा जुटेकाले यसका लागि आवश्यक सहयोग गर्न उहाँले विज्ञहरुसँग आग्रह गर्नुभयो ।

परिस्थितिअनुसार राजनीतिक नेतृत्व परिवर्तन हुने भए पनि यसबाट मुलुकले लिन खोजेको राष्ट्रिय दायित्वमा कुनै असर पर्न नहुनेमा जोड दिँदै उहाँले यसमा विज्ञहरुको राय सुझाव महत्वपूर्ण हुने बताउनु भयाे  ।

प्रविधि क्षेत्रका नीति कानुन बनाउँदा जतिसक्दो धेरै गैरप्राविधिक क्षेत्रले बुझ्न सक्ने भाषाशैली प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

एआई विज्ञ सिमोन ढुङ्गानाले एआईको विकास र प्रयोगमा कयौँ देशहरू अलमलमा रहेको बेलामा नेपालमा यससम्बन्धी नीति तयार पार्न पहल लिनु अन्तर्राष्ट्रिय रुपमा पनि महत्वपूर्ण प्रयास मानिने बताउनुभयो ।

मन्त्री शर्माको सफल नेतृत्व र तदारुकताका कारण छोटै समयमा नीतिगत र व्यवहारिक रुपमा नेपालले सूचना प्रविधिको क्षेत्रमा फड्को मारेको भन्दै यो देशका लागि ठूलो उपलब्धि भएको उहाँको टिप्पणी थियो ।

कार्यक्रम सहजीकरण मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले गर्नुभएको थियो ।

मा प्रकाशित