लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको शिलान्यास ६ अर्ब १८ करोड रुपैयाँ लागत

आर्थिक परिवेश

१५ भदौ, बुटवल ।  बुटवलकाे  मुख्य केन्द्रमा १२०० शैय्याको लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको शिलान्यास भएको छ ।

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना साे अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो ।

मुख्य भवन १० तलाको हुने अस्पताल प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास प्राधिकरणले तयार गरेको गुरुयोजना अनुसार निर्माण हुन लागेकाे हाे  ।

अस्पताल भवनको नेपाल सरकारका उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार निर्माण कार्यकाे शिलान्यास गर्नु भयाे  ।

निर्माण हुने भवनमा पाँच तलाको क्यान्सर उपचारको छुट्टै भवन हुनेछ । १० तलाको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ हुनेछ भने पाँच तलाको भवनमा एक तला अन्डरग्राउण्ड पार्किङ रहनेछ ।

दुई भवन र त्यसका उपकरण, आन्तरिक व्यवस्थापनमा सरकारले ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपैयाँ लागत अनुमान गरेको छ ।

भवनकाे निर्माणमा  दुई नेपाली कम्पनी र एक एक भारतीय कम्पनीहरूले संयुक्त रूपमा ५ वर्षभित्र काम सक्ने गरी ६ अर्ब १८ करोड रुपैयाँमा सम्झौता भएको हाे ।

नयाँ भवनको अगाडिको भागमा अत्याधुनिक बहिरंग सेवा ओपीडी, आपतकालीन उपचार, इमर्जेन्सी र इन्डोर सर्भिस कक्षसहित १२ सय बेड रहने छ भने विशिष्टीकृत ग्यास्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा पनि  एउटै भवनबाट उपलब्ध हुनेछन् ।

‘क्याप साइट-आशिष-रेलिगेर’ जेभीसँग ठेक्का सम्झौता भई भवन निर्माण पुर्व तयारीका कामहरु गत बैशाखदेखि नै भइरहेको पूर्वाधार विकास प्राधिकरण दाङका प्रमुख इन्जिनियर पोखरेलले जानकारी दिए । क्याप साइट भारतीय प्रतिष्ठित निर्माण कम्पनी हो ।

आशिष र रेलिगेर नेपाली कम्पनी हुन्  ।  गत पुस २६ गते भएको ठेक्का सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्नेछ  ।

सरकारले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ ।

१२ सय शैय्याको अस्पताल सञ्चालनमा आएपछि यसले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्ने छ ।

नयाँ अस्पताल भवनले बिरामीलाई उपचारमा सहजतासंगै खस्केको बुटवलको ब्यापार व्यवसायलाई समेत राहत दिने छ ।

प्रदेशको स्थायी राजधानी दाङ कायम भएपछि खस्केको बुटवलको व्यवसाय दिगोरुपमा चलायमान र गुल्जार बनाउन यो अस्पताल ‘गेमचेन्जर’ प्रोजेक्ट हुने विश्वास बुटवलवासीले गरेका छन् ।

‘बुटवलको गेमचेन्जर लाइफलाइन भनेकै बुटवलमा बन्ने १२ सय शैय्याको अस्पताल हो,यसले बिरामीको उपचार मात्रै गर्ने छैन, खस्केको बुटवलको व्यापार व्यवसायलाई बचाउन समेत योगदान गर्नेछ,’ बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनु भयाे  ।

लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पोखरेलको पालामा नै बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ सेवा उपलब्ध गराउने गरी ‘ड्रिम प्रोजेक्ट’को रुपमा अघि बढाइएको थियो ।

तर, ठेक्का प्रक्रिया विवादास्पद भएपछि दुईपटक रद्द गरिएको थियो । भवन निर्माण मापदण्डको ‘स्पेसिफिकेसन’मै आशंका भएपछि दुवै टेन्डर रद्द गरिएको थियो ।  तेस्रोपटक आह्वान भएको टेण्डर स्वीकृत भई गत पुस २६ गते भएको ठेक्का सम्झौता भएको थियो ।

मा प्रकाशित