३१ अर्ब ६२ करोड बराबरको बजेट ल्यायाे सुदूरपश्चिम प्रदेश सरकारले

आर्थिक परिवेश
sharethis sharing button३१ भदाै, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि करिब ३१ अर्ब ६२ करोड बराबरको बजेट ल्याएको छ ।

आजको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले चालू आर्थिक वर्ष २०८१/८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो ।

कुल बजेट मध्य चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ १ करोड बजेट छुट्ट्याइएको छ ।

तत्कालीन सरकारले गत असार १ गते ल्याएको बजेट पारित नभएपछि सरकारले आज दोस्रो पटक पुनरावलोकन सहित परिमार्जन बजेट ल्याएको हो । सरकारले बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार,पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।

यसैबिच सरकारले संवैधानिक व्यवस्था प्रतिकुल बजेट ल्याउन खोजेको भन्दै प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरुले आजको बैठक बहिस्कार गर्नुभयो ।

त्यस अघि उहाँहरूले प्रदेश सभामा अवरोध गरेपछि सभामुख भीमबहादुर भण्डारीले २० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।

सरकारले चालु आर्थिक वर्षका लागि बजेट ल्याएसँगै २ महिनादेखिको बजेट शून्यता अन्त्य भएको छ ।

मा प्रकाशित