नेपाल र अमेरिका टिफा काउन्सिल बैठक सम्पन्न शुन्य भन्सार सहुलियत निरन्तरताका लागि जाेड

आर्थिक परिवेश

३१ भदौ,काठमाडौ ।   नेपाल र संयुक्त राज्य अमेरिकाबीच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता अन्र्तगतको परिषद् (टिफा काउन्सिल)को सातौँ बैठक दुई पक्षीय व्यापार तथा लगानीका विभिन्न पक्षमा छलफल गर्दै सम्पन्न भएको छ ।

बैठकमा नेपाल र अमेरिका बीचको आपसी व्यापार, अमेरिकाले नेपाली ७७ वस्तुहरुमा उपलब्ध गराउदै आएको शुन्य भन्सार सहुलियतमा वस्तुहरुको सूचि थप गर्ने तथा विस्तार गर्ने, नेपालमा अमेरिकी लगानी तथा प्रविधिको विस्तार लगायतका विषयहरुमा छलफल भएको छ ।

बैठकमा नेपालले अमेरिकी पक्षलाई टिफा प्रमेवर्क अन्र्तगत नेपाली वस्तुहरुको थप सूचि समेत उपलब्ध गराउनुका साथै भन्सार सुविधालाई नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नती भएपछि पनि निरन्तरता दिन आग्रह गरेको छ ।

बैठकमा नेपाली पक्षले राखेका विषयहरुमा आफूहरु सकारात्मक रहेको अमेरिकी पक्षले बताएको छ ।

बैठकको क्रममा अमेरिकी पक्षले नेपाललले हालै विदेशी लगानी सहजिकरण सम्बन्धी विभिन्न कानुनहरु परित गरेकोमा खुशि प्रकट गर्दै व्यापार तथा लगानी सम्बन्धी कानून र विधिहरुलाई पारदर्शी बनाउन सुझाव दिएको छ ।

त्यसै गरी वैदेशिक लगानीका लागि सबै क्षेत्र खुल्ला गर्न सुझाव दिएको बैठकमा सहभागि बाणिज्य मन्त्रालयको दुइ पक्षीय व्यापार महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारीले जानकारी दिनु भयो ।

बैठकमा नेपाली पक्षको नेतृत्व बाणिज्य मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले गर्नु भएको थियो भने अमेरिकी पक्षको नेतृत्व सहायक अमेरिकी व्यापार प्रतिनिधि ब्रेनडेन लिन्चले गर्नु भएको थियो ।

नेपाल र अमेरिका बीचको टिफा सम्झौता बमोजिम भन्सार सहुलियतको अवधी सन २०२५ मा सम्पन्न हुदैछ ।

यस अघि बेठकको उदघाटन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले व्यापार सहजीकरणमा वृद्धि मार्फत नेपाली वस्तुको बजार पहुँचमा सुधार हुने अपेक्षा गर्नुभयो ।

टिफा काउन्सिल बैठक दुवै देशका व्यापारिक समुदायबीच प्राविधिक सहयोग, क्षमता अभिवृद्धि र सहयोग बढाउन महत्वपूर्ण हुने मन्त्री भण्डारीको भनाइ थियो ।

नेपालले व्यापारको गतिलाई कायम राख्नका लागि बजार पहुँचको विस्तार र वैकल्पिक उपायको विस्तारका लागि अमेरिकी समर्थन चाहेको छ मन्त्री भण्डारीले भन्नुभयो ।

उदघाटन कार्यक्रममा अमेरिकी व्यापार प्रतिनिधिमण्डलका सदस्यले दुई देशबीचको व्यापार सहकार्यलाई अझै बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।

मा प्रकाशित