वर्तमान सरकारको मुख्य प्राथमिकता आर्थिक बेथिति रोक्ने रहेको छ : मुख्यमन्त्री आचार्य

आर्थिक परिवेश

  ०१असाेज बाँके ।    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा सदस्यहरूको सुझावलाई सरकारले आत्मसात् गरेर कार्यान्वयनमा लैजाने बताउनुभएको छ।

नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वर्तमान सरकारको मुख्य प्राथमिकता आर्थिक बेथिति रोक्ने रहेको स्पष्ट पार्नुभयो।

उहाँले योजना कार्यान्वयनको नाममा भइरहेको आर्थिक अनियमितता रोक्न पाँच लाखभन्दा माथिका योजनालाई प्रतिस्पर्धामार्फत अघि बढाउने बताउँदै, यस कार्यमा प्रदेश सभा सदस्यहरूको पनि सहजीकरण आवश्यक रहेको धारणा राख्नुभयो।

बजेटले अधुरा कामहरूलाई आगामी वर्षमा सम्पन्न गर्ने योजना रहेको जानकारी पनि उहाँले दिनुभयो।

प्रदेश सरकारले प्रदेश सडक गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै यसबारे जिल्ला तहमा छलफल गरी टुङ्गोमा पुर्‍याइने मुख्यमन्त्रीले स्पष्ट पार्नुभयो।

बैठकमा संसदीय दलको विधान संशोधनका लागि उपसमिति गठन गरिएको छ। दलका उपनेता भोजप्रसाद श्रेष्ठ संयोजक रहने उक्त उपसमितिमा प्रमुख सचेतक तुलसीप्रसाद चौधरी र सचेतक यमुना रोका तामाङ सदस्य हुनुहुन्छ । साथै, बैठकले प्रदेश सभा सदस्यहरूको कार्य विभाजन र जिम्मेवारी तोक्ने निर्णय पनि गरेको छ।

मा प्रकाशित