चालू वर्षमा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अन्तर्राष्ट्रिय मुद्राकोषकाे प्रक्षेपण

आर्थिक परिवेश

१५ कात्तिक, काठमाडौं ।    चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले जनाएको छ ।

विहीवार सार्वजनिक भएको आईएमएफको एसिया तथा प्यासिफिक क्षेत्रको ‘रिजनल इकोनोमिक आउटलुक’ले पुँजीगत खर्च बढ्ने तथा कृषि उत्पादन राम्रो हुने अपेक्षा भएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने जनाएको हो ।

गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव १ प्रतिशत भएको र चालू आवमा त्यसमा बढोत्तरी हुँदै ४ दशमलव ९ प्रतिशत पुग्ने प्रक्षेपण आईएमएफको छ ।

आर्थिक वृद्धिमा सुधार हुनुमा सहयोगी मौद्रिक नीतिको पनि भूमिका रहने आईएमएफले जनाएको छ ।

तर, आईएमएफले गत अप्रिलमा सार्वजनिक गरेको प्रक्षेपणको तुलनामा यसपटकको प्रक्षेपण भने घटाएको छ । यसअघि ५ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरिएको थियो ।

दक्षिण एसियाली क्षेत्रमा भारतको आर्थिक वृद्धि ७ प्रतिशत रहने आईएमएफको प्रक्षेपण छ । गत अप्रिलको तुलनामा २ आधार बिन्दूले बढी हो । भारतमा लगानी तथा निजी क्षेत्रको उपभोगमा भएको वृद्धिले आर्थिक वृद्धि सबल भएको आईएमएफको भनाइ छ ।

गत आर्थिक वर्षमा बंगलादेशमा ५.८ प्रतिशत आर्थिक वृद्धि भएकोमा यो साल घटेर ५.४ प्रतिशत हुने पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

दुई वर्षअघि आर्थिक संकटमा परेयता आईएमएफले श्रीलंकाको आर्थिक वृद्धिको प्रक्षेपण भने गरेको छैन । विश्व आर्थिक वृद्धिमा एसिया प्यासिफिकको योगदान ६० प्रतिशत कायमै रहने ‘रिजनल इकोनोमिक आउटलुक’ले जनाएको छ ।

मा प्रकाशित