देशको अर्थतन्त्रको सुधारका लागि क्रमशः पहल भइरहेको छ : उपप्रधानमन्त्री

आर्थिक परिवेश

  २६ मङ्सिर, काठमाडाैं  । अर्थमन्त्री विष्णु पौडेलले हाल देशको अर्थतन्त्रको सुधारका लागि क्रमशः पह:ल भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा आज भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले समस्या र दबाबमा रहेको अर्थतन्त्रको सुधारका लागि पहल भइरहेको बताउनुभयो ।

उहाँले समग्र आर्थिक स्थितिमध्ये केही सूचक राम्रो रहेको र सेयर बजार लगायतमा गतिशीलता आएको पनि बताउनुभयो ।

अर्थमन्त्री पौडेलले राजस्व चुहावट रोक्नका लागि सरकारले प्रयास गरिरहेको भएपनि सबै प्रयास सफल हुन नसकिरहेको पनि बताउनुभयो । राजस्वको लक्ष्य प्राप्तिबाट मात्रै बजेटको सन्तुलन कायम हुन सक्ने भन्दै मन्त्री पौडेलले  लक्ष्य पुरा गर्न लागि परिरहेको बताउनुभयो ।

बैठकमा अर्थ मन्त्रालयले अर्थतन्त्रको परिसूचक र राजस्व परिचालन सुधार हुँदै गइरहेको भएपनि देशको आर्थिक अवस्था सुधारका लागि अझै प्रयत्न आवश्यक रहेको जनाएको छ ।

अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहेपनि आन्तरिक अर्थतन्त्र चलायमान बनाउने चुनौती रहेको बताउनुभयो ।

यस्तै, राजस्व सचिव दिनेश कुमार घिमिरेले लक्ष्यको तुलनामा ७६.२४ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको भन्दै लक्ष्यअनुरूप राजस्व सङ्कलनका लागि थप प्रयास गर्नु आवश्यक रहेको बताउनुभयो ।

बैठकमा सांसदहरुले राजस्व छुटलाई औचित्यपूर्ण र पारदर्शी बनाइनु पर्ने, भन्सार मूल्य कारोबार मूल्यमा आधारित हुन नसकेको, भन्सार कार्यालयहरूलाई आधुनिक र प्रविधिमैत्री बनाइनु पर्ने सुझाव दिनुभयो ।

यस्तै सांसदहरुले देशमा लगानी बढाउनका लागि आवश्यक कानुन बनाउन ढिलाइ गर्न नुहुने, विश्वासको वातावरण बनाउनु पर्ने र नियामक निकायहरूको भूमिकालाई प्रभावकारी बनाइनु पर्नेमा समेत जोड दिनुभयो ।

मा प्रकाशित