२९ मंसिर काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएकोले त्यसलाई सहि बाटाेमा ल्याउन दुइ दलकाे वर्तमान सरकार गठन भएकाे बताउनु भएकाे छ ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५औँ वार्षिक साधारणसभा तथा ७ औँ महासभाकाे उद्घाटन समाराेहमा सञ्चारमन्त्री गुरुङले अस्थिर राजनीतिको प्रतिच्छायाले अर्थतन्त्र ओझेलमा परेको बताउनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्रीले समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै राजस्व सङ्कलन र खर्च प्रणालीमा समस्या देखिएकाले सोको समाधानका लागि सरकारको ध्यान केन्द्रित भएकाे बताउनुभयो ।
“राजस्व लक्ष्यअनुसार सङ्कलन हुन सकेको छैन । भन्सारमा आधारित राजस्व प्रणाली रहेकाले मागमा कमी आउँदा सङ्कलन घट्नुका साथै पुँजीगत खर्च पनि कमजोर भएको छ”, उहाँले भन्नुभयो ।
खर्च प्रणालीलाई व्यवस्थित र सहज बनाउन सार्वजनिक खरिद ऐन संशोधनका लागि प्रयास भइरहेको सञ्चारमन्त्रीले बताउनुभयो । दुग्ध र उखु किसानलाई सरकारले यथाशीघ्र भुक्तानी दिने उहाँले जानकारी दिनुभयो ।
मुलुकमा अनलाइन र साेसियल मिडियामा देखिएकाे अराजकतालाई नियमन गर्न सरकारले ऐन ल्याउने तयारी गरेकाे पनि उहाँले उल्लेख गर्नु भयाे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीकर्ताको मनोबल बढाउन सरकारस्तरमा भएका प्रयासको सह्राना गर्दै निजी क्षेत्रले पनि सरकारसँग साझेदारी गर्ने बताउनुभयो ।
उहाँले उद्योगी–व्यवसायी बैङ्कको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने स्थिति उत्पन्न हुन नदिन सरकारले बनाएका नीति प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष र सरोकार भएका निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
“सरकारले नीति ल्याएर मात्र हुँदैन । सो प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्दछ । अर्थमन्त्रालय तथा सरोकार भएका निकायबीच समन्वय आवश्यक छ”, उहाँले भन्नभयो ।
निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी सरकारले रोक्न नहुनेमा उहाँले जोड दिनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारका नीतिहरूलाई स्थिरता प्रदान गरी लगानी र व्यवसायका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रले सरकारलाई आवश्यक सहयोग र समन्वय गर्ने उहाँले बताउनुभयो ।
मा प्रकाशित