९ पुस, काठमाडौं। सिद्धार्थ राजमार्गकाे बुटवल पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘छिचाेल्ने कार्य ब्रेक थ्रु’ सम्पन्न भएको छ।
आयोजनाका अनुसार ‘बाइपास २’ को आइतबार ब्रेक थ्रु सम्पन्न भएसँगै यस आयोजना अन्तर्गत रहेका तीन वटै बाइपास सुरुङ छिचोलिएका हुन्।
बाइपास दोस्रो १ सय ६१ मिटर लम्बाइको छ। यसअघि बाइपास तेस्रोको २६ भदौ र बाइपास प्रथमको ४ असोजमा ब्रेक थ्रु भएको थियो।
जसको पछिल्लो विवरण अनुसार ८ सय मिटरभन्दा बढी खन्ने काम सम्पन्न भइसकेको छ । सुरुङमा लाइनिङको काम भने अझै सुरु भइसकेको छैन ।
सुरुङ खन्न एक वर्ष अगाडिदेखि सुरु भएको थियो । यो आयोजना निर्माण जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ ।
त्यहाँ टनेलसहित दोहोरो लेन, स्लोप प्रोटेक्सन सहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनिरहेका छन् ।