२५ पुष, पाेखरा । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश नितिज राईको इजलासले सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाइलाई ३७ लाख, मीना गुरुङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख रूपैया धरौटी माग गरेको उक्त अदालतका स्रेस्तेदार राजन खनालले बताउनुभयो ।
अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलन गरेको आरोपमा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
धरौटीमा रिहा भएका प्रतिवादीको मुद्दामा थप अनुसन्धान हुने स्रेस्तेदार खनालले जानकारी दिनुभयो ।
मा प्रकाशित