पूँजीगत खर्चकाे प्रवृत्तिमा उल्लेख्य सुधार भएकाे छ : अर्थमन्त्री पौडेल

आर्थिक परिवेश

२७ माघ, काठमाण्डौं ।    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ आइतवार राष्ट्रियसभाको बैठकमा पेश गर्नु भएको छ ।

बैठक समक्ष बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री पोडेलले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित रहेको बताउनु भयो ।

अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेस गर्दै अर्थ मन्त्री पोडेलले भू–राजनीतिक तनाव तथा अन्य अन्तर्राष्ट्रिय कारणले मूल्यश्रृङ्खला प्रभावित भएको, अपेक्षित रुपमा कर्जा विस्तार हुन नसकेको, निर्माण क्षेत्रमा सुधार आउन नसकेकाले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने चुनौती देखिएको बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा निरन्तर सुधारको प्रयास, अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप लेखाङ्कन तथा प्रतिवेदन प्रणाली कार्यान्वयनमा रहेकाले वित्त प्रणालीको पारदर्शीता र विश्वसनीयता बढेको बताउनुभयो ।

समीक्षा अवधिमा समग्र खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ६६ प्रतिशतले बढिरहेको उल्लेख गर्दै अर्थमन्त्रीले आर्थिक वृद्धिको परिचालकका रुपमा रहेको पूँजीगत खर्च आर्थिक वर्षको मध्यसम्म सुस्त रहने विगतको प्रवृत्तिमा भने उल्लेख्य सुधार हुन सकेको बताउनुभयो ।

बैठकमा अर्थमन्त्री पौडेलले चालु आवमा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख खर्च हुने अनुमान गरिएकामा १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख खर्च हुने संशोधित अनुमान गरिएको जानकारी गराउनुभयो । यो रकम सुरू विनियोजनको ९० दशमलव ९९ प्रतिशत हो ।

मा प्रकाशित