सुपारी, केराउ र मरीचको आयात अनुमति तस्करी बढने खतरा

आर्थिक परिवेश

  ०६ फागुन,  काठमाडौं ।    सरकारले नयाँ खुलेका उद्योगलाई पनि सुपारी, केराउ र मरीचको आयात अनुमति दिने निर्णय गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त निर्णय लागू गरेको हो।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र सेतो तथा कालो मरीचको आयातमा रहेका प्रतिबन्ध हटाइएका जानकारी दिनुभएकाे छ ।

यसअघि, तस्करीको समस्या बढेपछि २०७६ चैत २४ मा सरकारले यी वस्तुहरूको आयातमा पूर्ण बन्देज लगाएको थियो।

त्यसपछि २०७७ चैत ९ मा पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लागू गरिएको थियो। सोको आधारमा उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थको रूपमा सुपारी, केराउ र मरीचको आयात अनुमति दिइएको थियो।

तर, यसपटक नयाँ उद्योगलाई पनि आयात अनुमति दिने व्यवस्था गरिएको छ। पहिले कम्तीमा पाँच वर्ष पुरानो उद्योगलाई मात्र आयात अनुमति दिइने थियो, अहिले भने नयाँ उद्योगलाई पनि

सुविधा मिलेको छ। मन्त्रालयका अधिकारीले पुरानो कार्यविधि खारेज गरि नयाँ नीति लागू गरेको बताएका छन्।

सुपारी भारतबाट आयात हुने प्रमुख वस्तु हो, र यसका लागि खाद्य अनुज्ञापत्र, उत्पत्तिको प्रमाणपत्र, क्वारेन्टाइन जस्ता कागजातहरू चाहिन्छ। तर, यी प्रक्रियाहरू पुरा गर्न झमेला भएकोले तस्करी बढेको भनाइ छ।

सुपारीको स्वदेशी उत्पादन सस्तो नहुँदा आयात गर्नुपर्ने बाध्यता रहेको छ। यस आर्थिक वर्षको पहिलो छ महिना ४१ करोड १७ लाखको सुपारी आयात भएको र गत वर्ष १ अर्ब ५ करोड ८४ लाखको सुपारी आयात भएको थियो।

नयाँ कार्यविधि अनुसार, उद्योग दर्ता प्रमाणपत्र, भ्याट र प्यान दर्ताको प्रमाणपत्र लगायतका कागजात प्रस्तुत गरेर उद्योगहरूले आफ्नो आयात अनुमति प्राप्त गर्नुपर्नेछ।

मा प्रकाशित