२७ चैत्र काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।
नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मक रुपमा उद्योग–व्यवसायलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।
आजको युगमा कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
“कसैलाई गाली गलौच, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्नु हुँदैन । मानिसलाई सहज रूपमा सेवा सुविधा दिनका लागि सूचना र प्रविधिको प्रयोग हुनुपर्छ ।
हामीले बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने हुन्छ । हरेक क्षेत्रमा सम्भावना छ भनेर तपाईँहरूले कन्भिन्स गर्न सक्नुहुन्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशहरूप्रति चेम्बरजस्ता संस्थाहरूले खोचे थाप्ने काम नगरी समर्थन गरेको स्मरण गर्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैलीहरू प्रशंसनीय रहेको बताउनुभयो ।
“आज हामीलाई सुशासन र विकास चाहिएको छ । सुशासनमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ ।
त्यसलाई नियन्त्रण गर्नका लागि तपाईँहरूको पनि सहयोग चाहिन्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, ।
“देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरू मिलेर सरकार बनेको छ । त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो सिलसिला कायम रहन्छ । त्यसकारण तपाईँहरू ढुक्क भएर लगानी गर्नुस् । देशको विकासका योगदान गर्नुस् ।”
चेम्बर, एउटा सरकार र निजी क्षेत्रबिचको पुलको कार्य गर्ने संस्था भएको र नीति निर्माणका सवालमा सरकारलाई यसले सघाएकामा प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने उद्यमी–व्यवसायीहरूलाई प्रधानमन्त्री ओलीबाट अवार्ड प्रदान गरिएको थियो भने चेम्बरको स्मारिका पनि लोकार्पण भएको थियो ।
मा प्रकाशित