०४ जेठ, दाड. । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्ने गरी प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन एवम् स्मारिका विमोचन कार्यक्रमलाई शनिबार दाङको सिसहनियाँमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कृषि क्षेत्रको विकास र उद्यमीहरूलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री आचार्यले व्यवसायी तथा उद्यमीहरूसँग प्रदेश सरकार सधैँ साथमा रहेको बताउँदै उच्च मनोबलका साथ व्यवसायमा दत्तचित्त भएर अघि बढ्न आह्वान गर्नुभयो ।
उहाँले आधारभूत वर्गलाई उत्पादन कार्यसँग नजोडिएसम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने स्पष्ट पार्दै स्थानीय उत्पादन बढाउन र त्यसमा आधारभूत वर्गको अनिवार्य सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
व्यवसायमैत्री वातावरण निर्माणमा प्रदेश सरकारले भूमिका बढाएको उल्लेख गर्दै उहाँले व्यवसायको विकासका लागि बनाइएका कानुन, नीति, नियम, कार्यविधिहरू बाधक भएमा सुधार गर्न सरकार तयार रहेको जानकारी दिनुभयो ।
प्रदेश राजधानी क्षेत्रको विकासका निम्ति वर्तमान सरकार गम्भीर रहेको र लगानीको खोजी भइरहेको जानकारी दिँदै उहाँले अनावश्यक हल्ला, भ्रम र कुप्रचार फैलाउनेभन्दा राजधानी निर्माणमा हातेमालो गरेर अघि बढ्नुपर्ने समय आएको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले समस्याहरूलाई राम्रोसँग बुझेको र त्यसको समाधानका लागि गम्भीर भएर काम अघि बढाइएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि र उद्यम क्षेत्रको विकास अत्यावश्यक रहेको बताउनुभयो ।
चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टङ्कप्रसाद पोखरेलले स्थानीय उत्पादनको बजारीकरणका लागि निजी क्षेत्र तयार रहेको उल्लेख गर्दै प्रदेश राजधानी क्षेत्रलाई नयाँ ढंगले अघि बढाउन निजी क्षेत्रले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल शर्मा बेल्वासेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृषि, उद्यम लगायतका क्षेत्रमा उत्कृष्टता हासिल गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
मा प्रकाशित