विप्रेषण बढेर १३ खर्ब ५६ अर्ब ६१ करोड, बैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड

आर्थिक परिवेश

२७ जेठ, काठमाडौ ।   चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा नेपालमा भएको विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैकले मंगलवार जारी गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी पछिल्लो प्रतिवेदन अनुसार यस अवधीमा विप्रेषण आप्रवाह बढेर १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा मात्र विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह.१ खर्ब १५ अर्ब ९९ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर).१४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब १ अर्ब ७५ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ रहेको थियो ।

मा प्रकाशित