०१ असार काठमाण्डाै । देशका सातवटै प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै छन्।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेका हुन्।
संविधानमा संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्ने व्यवस्था गरिएको छ। त्यसैगरि स्थानीय तहहरूले असार १० गतेपछि बजेट ल्याउने गरेका छन्।
प्रदेश सरकारहरुले चालू आवको कुल बजेट दुई खर्ब ७८ अर्ब ७० करोडकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन्।
कोसीमा चालू आवका लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट प्रस्तुत गरेको थियो। आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेट ३५ देखि ४० अर्ब हाराहारीमा हुने त्यहाँको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
त्यसैगरि बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ मा बजेटको आकार करिब पाँच प्रतिशत बढाउने तयारी गरेको छ।
आइतबार दिउँसो तीन बजे हेटाैँडास्थित प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दन काफ्लेले बजेट सार्वजनिक गर्दै छन्। चालू आवमा बागमतीले ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
त्यसैगरि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टंकराज गुरुङले आइतबार दिउँसो चार बजे प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दैछन्। गण्डकीमा चालू आवको तुलनामा करिब एक अर्ब घटाएर बजेट ल्याउने तयारी छ।
त्यस्तै लुम्बिनी प्रदेश सरकारले आइतबार दिउँसो तीन बजे प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।
लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षमा ३८ अर्ब ९७ करोडको बजेट ल्याइएको थियो। आगामी वर्षको बजेट गत वर्षभन्दा घटाएर ल्याउने तयारी सरकारले गरेको छ।
कर्णालीले भने चालू आवकै हाराहारीमा आगामी आवका लागि बजेट ल्याउने तयारी गरेको छ। चालू आवमा कर्णालीमा ३१ अर्ब ४१ करोड ४१ लाखको बजेट सार्वजनिक भएको थियो।
त्यसैगरि सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सभा बैठकमा आज बजेट सार्वजनिक गर्नेछन्। कर्णाली सरकारले गत वर्ष ३१ अर्ब ५३ करोड ६६ लाखको बजेट ल्याएको थियो।
यसै बीच सघीय ससदमा अाइतवारदेखि आगामी आर्थिक वर्ष ०८२/८३ काे बजेटकाे वारेमा सैदान्तीक छलफल शुरु भएकाे छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२८३ को बजेट प्रस्तुत गरेर १७ दिनपछि सभामा आजबाट बजेटमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको हो । सरकारले जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरेको भए पनि प्रतिपक्षी दलको अवरोधका कारण छलफल अघि बढ्न सकेको थिएन ।
सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै वर्तमान आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई सही दिशा दिन गरी बजेट ल्याइएको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहेपनि चुनौतीहरू कायमै रहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने, समग्र राष्ट्रिय आयमा वृद्धि गर्ने, र सबल अर्थतन्त्र निर्माण तर्फ बजेट लक्षित भएको बताउनुभयो ।
मा प्रकाशित