राष्ट्रिय सभाको बुधवारको बैठकले  विनियोजन विधेयक २०८२ बहुमतले पारित

आर्थिक परिवेश

१८ असार, काठमाण्डौ ।     राष्ट्रिय सभाको बुधवारको बैठकले  विनियोजन विधेयक २०८२ बहुमतले पारित गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पारित गरियोस् भनि प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८२ सभाको बहुमतले पारित गरेको हो ।

यस्तै बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

विधेयकमाथि सुझाव दिन चाहने राष्ट्रियसभाका सदस्यहरूले विधेयक शाखामा सुझाव पेस गर्न सकिने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।

यस्तै बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक,–२०८२ सर्वसम्मतिले पारित गरेको छ ।

भन्सार विधेयक, २०८० पारित

राष्ट्रिय सभाको बुधवारको बैठकले  भन्सार विधेयक, २०८० पनि पारित गरेको छ ।

बुधवारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएकोमा उक्त प्रस्ताव सर्वसहमतिले पारित भएको हो ।

प्रस्ताव पेस गर्नुहुँदै अर्थमन्त्री पौडेलले नयाँ कानुन कार्यान्वयनपछि भन्सार चुहावट नियन्त्रण, प्रविधिको प्रयोग बढाउने, भन्सार जाँचपास छिटोछरितो र प्रभावकारी ढङ्गले काम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।

नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार सङ्गनठको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो ।

यी सम्झौताअनुसार संशोधित क्योटो महासन्धिका प्रावधानमध्ये सामान्य प्रावधान सदस्य भएको तीन वर्षभित्र तथा सङ्क्रमणकालीन मापदण्ड पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्ने महासन्धिमा उल्लेख छ ।

मा प्रकाशित