
१३ साउन ललितपुर । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
काँग्रेसको वित्तीय संस्था समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा उहाँले काँग्रेस र नेकपा (एमाले)बिच भएको सात बुँदे सहमतिको एउटा महत्त्वपूर्ण उद्देश्य अर्थतन्त्र चलायमान बनाउनुभएको बताउनुभयो ।
सभापति देउवाले लामो सशस्त्र द्वन्द्व, २०७२ को विनाशकारी भूकम्प, कोभिड १९ को महामारी, रुस–युक्रेनबिचको द्वन्द्वले समेत नेपालको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावका बाबजुद पनि मुलुकको आर्थिक स्थायित्व कायम रहन सक्नुमा २०४८ पछि काँग्रेसको सरकारले बसालेको दरिलो अर्थतन्त्रको जग भएको दाबी गर्नुभयो ।
सभापति देउवाले वर्तमान अवस्थामा अर्थतन्त्रका बाह्य सूचकहरू, सरकारको चालु खाता र शोधनान्तर बचत निरन्तर बढ्दै गएको, विदेशी मुद्रा सञ्चितिमा उल्लेखनीय सुधार भएको, रेमिटेन्स उच्च दरमा वृद्धि भएको, मुद्रास्फीति करिब चार प्रतिशतमा सीमित भएको बताउनु भयाे ।
निजी क्षेत्रमा भएको कर्जा प्रवाह चार दशमलव छ प्रतिशतले वृद्धि भएको र गत वर्षको तुलनामा आयात १३ दशमलव एक प्रतिशत र निर्यात ७७ दशमलव आठ प्रतिशतले वृद्धि भएको जानकारी गराउनुभयो ।
सभापति देउवाले नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरिएको मौद्रिक नीतिअनुसार ब्याजदर घटेकाले बैङ्कमा जम्मा भएको ठुलो रकम कर्जा प्रवाहमा विस्तार भई औद्योगिक व्यवसाय तथा सर्वसाधारण जनतामा केही उत्साह जगाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जाल लगायत माध्यमबाट नकारात्मक भाष्य सिर्जना गर्ने कार्यले लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको भन्दै यसलाई सुधार गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
विकास बैंकर्स सङ्घका अध्यक्ष सुयोग श्रेष्ठले स्थानीय सरकारबाट हुने असहयोगका कारण लगानी गर्न समस्या भएको भन्दै यसका लागि सहज वातावरण बनाउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अर्थतन्त्रको दिगोपनाका लागि रेमिट्यान्समा मात्रै भर पर्न नहुनेमा जोड दिनुभयो ।
बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिफिन)का अध्यक्ष उपेन्द्र पौडेलले नेपालमा पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सक्ने गरी पूर्वाधार क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो ।
पूर्व गभर्नर डा चिरञ्जीवी नेपालले बजेट सकारात्मक आएको र अर्थतन्त्रलाई चलायमान बनाउने गरी सरकारबाट राम्रो काम भएको बताउनुभयो ।
उहाँले अर्थतन्त्रको सबै सूचकहरू राम्रो हुँदै गर्दा सबैतिर सकारात्मक बहस हुँदै गएको र लचक मौद्रिक नीतिले ब्याजदरलाई कम गराउन भूमिका खेलेको बताउनुभयो ।
धितोपत्र बोर्डका पूर्वकार्यकारी अधिकृत नीरज गिरीले नेपालको पुँजी बजारमा लगानीको वातावरण बनेको भन्दै धितोपत्र ऐनलाई समयसापेक्ष संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
विभागका प्रमुख कर्णबहादुर बुढाले पार्टीमार्फत सरकारलाई उपयुक्त सुझाव उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो ।
मा प्रकाशित