नाडा अटो शो एक लाख ६० हजारभन्दा बढी दर्शकले हेरे

आर्थिक परिवेश

०९ भदाै,काठमाडौँ । राजधानीकाे भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’ एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३ गते उद्घाटन गर्नुभएको उक्त प्रदर्शनीमा अटोमोबाइलसँग सम्बन्धित १३५ प्रदर्शनी कक्ष रहेका छन् ।

यस वर्षको प्रदर्शनीमा विगतका तुलनामा ३० नयाँ उत्पादनलाई समेटिएको आयोजक संस्था नाडाले जनाएको छ ।

प्रदर्शनीको पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, उद्योगी, युवा व्यवसायी तथा सर्वसाधारणले अभिरुचिका साथ अवलोकन गरेका थिए ।

यस पटकको प्रदर्शनीमा अवलोकनकर्ताको मुख्य आकर्षण उड्ने कार र रोबर्टप्रति रह्यो । प्रदर्शनी समापनका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उत्कृष्ट प्रदर्शनी कक्ष सञ्चालन गर्ने उत्पादनकर्तालाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले मुलुकमा सबैभन्दा बढी राजस्व प्राप्त गर्ने र उपभोक्ता जोडिएको क्षेत्र अटोमोबाइल रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफ्ना उत्पादनबारे जानकारी दिन र त्यसमा उत्पादकले विश्वास हासिल गर्न यस्ता प्रदर्शनी महत्वपूर्ण साबित हुनेछन ।”

नेपालले अटोमोबाइल क्षेत्रमा उत्पादन बढाउन र आत्मनिर्भर बन्नेतर्फ पाइला अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिँदै मन्त्री पौडेलले सडक यात्रालाई दुर्घटनारहित तुल्याउन तथा वातावरण मैत्री अटोमोबाइलका सामान उत्पादन गर्नेतर्फ ध्यान पुर्‍याउनुपर्छ भन्नुभयो ।

नाडाका अध्यक्ष करणकुमार चौधरीले नाडाका हरेक संस्करण स्मरणयोग्य भइरहेको दाबी गर्दै नेपालले पनि नयाँ प्रविधि र उपकरण उत्पादन गरी समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रदर्शनीमा पछिल्लो समय उत्पादन भएका विभिन्न प्रकारका विद्युतीय सवारीसाधनहरू उडने कार, पाटपुर्जा, टायर र लुब्रिकेटजस्ता सामग्री राखिएका थिए ।

मा प्रकाशित