लुम्बिनी र गण्डकी बिच विकास निर्माणमा सहकार्य हुने

आर्थिक परिवेश

१६ भदाै, काठमाण्डौ । लुम्बिनी र गण्डकी प्रदेशबीच विकास निर्माणसँग सम्बन्धि कार्यक्रमलाई थप प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सोमवार नौबुँदे निर्णय भएको छ ।

स्याङ्जाको गल्याङमा सोमवार सम्पन्न मुख्यमन्त्रीस्तरीय दोस्रो बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साझा विकाससँग सम्बन्धित नौबुँदे निर्णयमा हस्ताक्षर गर्नुभयो ।

सीमा जोडिएका यी दुई प्रदेशबीच यसअघि २०८१ माघ ३० गते पाल्पाको रानीमहलमा सम्पन्न मुख्यमन्त्रीस्तरीय बैठकमा साझा हित र चासोका विषयमा सहकार्य गर्ने प्रतिबद्धतासहित २१ बुँदे निर्णय भएको थियो ।

बैठकमा बजेट तथा नीतिगत प्राथमिकतामा रहेका विषयलाई कार्यान्वयनमा जोड दिने र नेपाल सरकारसँग नियमित समन्वय गर्न व्यवस्था मिलाइने, प्रतिबद्धता गरिएअनुसार तीन महिनाभित्र कार्ययोजना तयार गर्ने विषयमा छलफल भएको छ ।

बैठकमा सहकार्यको मर्मलाई आधार बनाई दुवै प्रदेशले साझा हितका कार्यक्रम संयुक्तरूपमा अघि बढाउने सहमति समेत भएको छ ।

त्यसैगरी, बैठकमा दामोदरकुण्ड–कृष्णागण्डकी ‘उत्तरवाहिनी’–लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणापत्र तयार गर्ने निर्णय गरेको छ ।

त्यस्तै, रुपान्तरणकारी कार्यक्रमहरूलाई अन्तरप्रदेश साझेदारीमा अघि बढाउने, कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिको कार्ययोजना आगामी पुस मसान्तभित्र पेस गर्ने, कात्तिक महिनामा उत्तरवाहिनी क्षेत्रमा हुने कात्तिक महास्नान तथा दामोदर धर्मोत्सवलाई भव्य बनाउन दुवै प्रदेशले सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ ।

मा प्रकाशित