भदाै २० सम्म पनि ६१ स्थानीय तहले बजेट ल्याएनन

आर्थिक परिवेश

२१ भदौ, काठमाण्डौ।   देशभरका ६१ स्थानीय तहले चालु आर्थिक वर्षकाे लागि बजेट अझै पनि सार्वजनिक गर्न सकेका छैनन् ।

स्थानीय तहले असार १० गते बजेट ल्याएर कार्यान्वयन गर्नु पर्ने व्यवस्था रहेको छ ।

मुलुकका ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहहरुले हालसम्म बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन् ।

बजेट पेश नभएका स्थानीय तहहरुको सङ्ख्या ६१ रहेको छ । हालसम्म कोशी प्रदेशका पाँच, मधेस प्रदेशका ४० र वाग्मती प्रदेशका पाँच स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन ।

राजनीतिक विवाद र स्थानीय समस्याका कारण ती स्थानीय तहले बजेट प्रस्तुत गर्न नसकेको पाइएको छ ।

गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट ल्याउँदा, लुम्बिनी प्रदेशका सात, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तहले बजेट ल्याएका छैनन् ।

मधेस प्रदेश अन्तर्गत सप्तरीका पाँच सिरहाका तीन, धनुषाका १०, महोत्तरीका एक, सर्लाहीका पाँच, रौतहटका पाँच, बाराका पाँच र पर्साका पाँच स्थानीय तहले बजेट ल्याएका छैनन् ।

काठमाडौँ महानगरपालिकाले यसअघि नै बजेट प्रस्तुत गरिसकेको भएपनि मन्त्रालयको विवरणमा उल्लेख नभएको देखिन्छ ।

संवैधानिक व्यवस्थाअनुसार हरेक बर्षको जेठ १५ गते संघीय सरकारले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत हुन्छ ।

यस्तै, असार १ गते प्रदेश सरकारको र असार १० गते स्थानीय तहले बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।

मा प्रकाशित