
२१ भदौ, काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका कमजोरीहरू उजागर गर्दै सकारात्मक कामलाई नागरिकसम्म प्रभावकारी ढङ्गले पुरयाउनु सञ्चार जगतको दायित्व भएको बताउनु भएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सञ्चार माध्यमहरू आलोचनात्मक र सुझावात्मक दुवै दृष्टिकोणले अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले आर्थिक पत्रकारिताको महत्व उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सबल बनाउन पत्रकारहरूको भूमिका अपरिहार्य भएको बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखिएको भए पनि कानुन कार्यान्वयन कमजोर भएकोले अपेक्षित नतिजा आउन नसकेको बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले लगानीका प्राथमिक क्षेत्र पहिचान गरी त्यसअनुसार नीतिगत तथा कानुनी सुधार गर्नुपर्नेमा जोड दिनु भयो ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक सूचकहरूमा सुधार हुँदै गए पनि निजी क्षेत्र अझै पनि लगानीमैत्री वातावरणको प्रतीक्षामा रहेको उल्लेख गर्नु भयो ।
मा प्रकाशित