
२८ भदौ, काठमाण्डौ । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट रोकिएको अर्थ प्रशासनको काम कारबाही आइतवारबाट सूचारु हुने भएको छ ।
अर्थ मन्त्रालय, भन्सार तथा कर कार्यालयहरू, कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलगायत सरकारी निकाय क्षतिग्रस्त हुँदा तत्काल सामान्य प्रकृतिका बाहेक अन्य सेवा दिन नसक्ने अवस्थामा पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार बजेट महाशाखाअन्तर्गतका केही शाखामा क्षति पुगेको छ भने अरू संरचनाबाट तत्काल सेवा दिन सक्ने अवस्थामा मन्त्रालय रहेको छ ।
मन्त्रालयअन्तर्गतका मुख्य तीन वटा सफ्टवेयरहरू र त्यसको तथ्याङ्क सुरक्षित रहेका छन् ।
मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआईएस), भन्सारअन्तर्गतको आसिकुडा र करतर्फको एकीकृत कर प्रणाली (आईटिएस) सुरक्षित रहेको उहाँले उल्लेख गर्नुृ भयो ।
भन्सारको सेवा सञ्चालनमा आइसकेको छ भने आन्तरिक राजस्व कार्यालयको अनलाइन सेवा मात्रै सञ्चालनमा छ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालका अनुसार काठमाडौँ उपत्यका बाहिरका चार–पाँच वटाबाहेक सबै कर कार्यालयमा क्षति पुगेको छ ।
भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक खाद्यान्न, फलफूल,ग्यास,तेललगायतका वस्तुको जाँच पासलाई प्राथमिकता दिएको ताउनुभयो ।
भौतिक संरचनामा क्षति भए पनि भन्सार जाँच पासका लागि प्रयोग हुने आसिकुडा प्रणालीमा क्षति नपुगेकाले सीमित स्रोतसाधनबाटै वस्तु जाँच पास सुरु गरिएको विभागले जनाएको छ । अर्थमन्त्रालयले आइतवारबाट काम सुचारु गर्ने तयारी गरेको प्रवक्ता पाण्डेले बताउनु भयो ।
मा प्रकाशित