निजी क्षेत्रकाे मनोबल उच्च बनाउन सरकारले शान्ति सुरक्षाको वातावरण बनाउनुपर्छ : उद्याेगी व्यवसायी

आर्थिक परिवेश

१८ कार्तिक,  काठमाडौँ । हालै भएकाे किशाेर युवाहरूकाे आन्दोलनका क्रममा भएका हिंसात्मक घटना र त्यसपछिको राजनीतिक अस्थिरताले निजी क्षेत्रको मनोबल पूर्ण रूपमा खस्किएको उद्याेगी व्यवसायीहरूले बताएका छन् ।

निजी क्षेत्र मनोबल उच्च बनाउन सक्षम पनि छ, तर सरकारले शान्ति सुरक्षाको वातावरण बनाउनुपर्छ उहाँहरूकाे भनाइ छ ।

सोमबार काठमाडौँमा अायाेजित पत्रकार सम्मेलनमा किशाेर युवाहरूकाे आन्दोलनपछिको परिस्थितिले देशको व्यावसायिक वातावरणमा पारेको प्रभावलाई सम्बोधन गर्न २८ वटा निजी क्षेत्रका छाता सङ्गठनहरूले यस्तै आग्रह गरेका हुन ।

उनीहरूले भौतिक संरचनाको क्षतिभन्दा पनि काम गर्ने मानिसको आस्था, विश्वास र मनोबल टुट्नु देशका लागि सयौँ गुणा बढी हानिकारक हुने पनि चेतावनी दिएका छन् ।

सबै छाता संगठनहरूले निजी क्षेत्रलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्ने धारणा राखे । वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थाप्रति थप जिम्मेवार र सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि उनीहरूले जनाएका थिए ।

सबै छाता संगठनहरूले निजी क्षेत्रलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्ने धारणा राख्दै व्यवसयिक वातावरण विग्रिएकाेमा   गहिरो चिन्ता व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनका  क्रममा उहाँहरूले निजी क्षेत्रमा आगजनी, तोडफोड र लुटपाटले ठुलो क्षति भएको, त्यसले निजी क्षेत्रको मनोबल कमजोर बनाएकाेले यसलाई माथि उठाउन सरकारले उच्छृङ्खल गतिविधिमा संलग्नलाई कारबाही गर्नुपर्ने र निजी क्षेत्रलाई सुरक्षा दिनुपर्ने अावश्यकता अाैल्याउनु भयाे  ।

राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले देशको पछिल्ला  राजनीतिक अनिश्चितता, आर्थिक मन्दी र सामाजिक असन्तुलनले व्यावसायिक वातावरणमा चुनौती थपिएको र त्यसले लगानी, रोजगारी र उत्पादन क्षमतामा प्रत्यक्ष असर पारेको बताउनु भयाे  ।

जोशीले निजी क्षेत्र देशको अर्थतन्त्रको इन्जिन भएकोले यसले  कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशतभन्दा बढी र करिब ५० लाख रोजगारी सिर्जना गरेर निजी क्षेत्रले राष्ट्रिय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथ्य उल्लेख गर्नु भयाे  ।

 

त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले अब सरकार, निजी क्षेत्र र सबै सरोकारवाला निकाय एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनु भयाे ।

देशमा दिगो शान्ति कायम गर्न सरकारले समयमै स्वच्छ, निष्पक्ष र सफलतापूर्वक निर्वाचन सम्पन्न गराउनुपर्नेमा उहाँको जोड थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ देर्जी लामा (एडी)ले रवि निर्माण क्षेत्रमाथि चौतर्फी आक्रमण भइरहेको गुनासो गरे । उनले व्यवसायीको मात्रै नभई सरकारी निकायका कारणले पनि हजारौँ ठेक्काहरू अलपत्र परेको तथ्य प्रस्तुत गर्नु भयाे ।
इँटा उद्योग महासंघका अध्यक्ष कृष्णप्रसाद अवालले आफ्नो उद्योगको प्रकृति खुला स्थानमा हुने भएकाले सबैभन्दा बढी असुरक्षित रहेको बताउनु भयाे ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले यो कार्यक्रम नै गिरेको मनोबल उकास्ने एउटा अभ्यास भएको बताउनु भयाे  । उहाँले भने, ‘घटना घटिसक्यो, अब यसलाई कसरी सम्बोधन गर्ने ? सरकारको ’रिभाइभल प्लान’ र ’रिबिल्डिङ प्लान’ के हो ? त्यो स्पष्ट छैन ।’

उनले पर्यटन क्षेत्रको उदाहरण दिँदै भने, ‘अक्टोबरमा १ लाख २८ हजार पर्यटक भित्रिएको सुखद खबर आउँछ, तर हाम्रो होटलको अकुपेन्सी ३० प्रतिशत मात्रै छ । तथ्यांकले मात्रै हुँदैन, त्यसको अनुभूति व्यवसायी र जनताले गर्न पाउनुपर्छ ।’

नेपाल एलपी ग्यास उद्योग संघका निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेले हालैको घटनालाई ‘अकल्पनीय र अपूर्व क्षति’को संज्ञा दिदै घटनाले विश्वभरि नै अत्यन्तै गलत सन्देश गएको र यसले विदेशमा बसेर नेपालमा लगानी गर्न चाहने नेपाली र विदेशी लगानीकर्ता दुवैलाई निरुत्साहित गरेको बताउनु भयाे  ।

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका राष्ट्रिय अध्यक्ष वीरेन्द्रप्रसाद प्रधानले व्यवसायीको मनोबल खिया लागेजस्तै भएको टिप्पणी गर्नु भयाे  ।

त्यस अवसरमा   निजी क्षेत्रले सरकारसमक्ष तत्काल वार्ता र संवादमार्फत सुरक्षित वातावरण बनाउन, नीतिगत स्थायित्व दिन र आफूहरूलाई देश विकासको साझेदारको रूपमा व्यवहार गर्न एक स्वरमा माग गरेको छ ।

कार्यक्रममा  निजी क्षेत्रले देशलाई थप संकटबाट जोगाउन र समृद्धिको बाटोमा फर्काउन आफूहरू सरकारसँग मिलेर काम गर्न तयार रहेको तर त्यसका लागि पहिलो पाइला सरकारले चाल्नुपर्ने धारणा व्यक्त भएकाे थियाे  ।

मा प्रकाशित