उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य : प्रधानमन्त्री

आर्थिक परिवेश

२२ कार्तिक,काठमाण्डौ ।   प्रधानमन्त्री शुशिला कार्कीले मुलुकको विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको बताउनु भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघले शनिवार काठमाण्डौमा आयोजना गरेको आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशको कुल गार्हस्थ उत्पादन, निर्यात, रोजगारी सिर्जना र करदाताका रूपमा निजी क्षेत्रको योगदान अग्रणी रहेको बताउनु भयो ।

प्रधानमन्त्री कार्कीले नेपालको अर्थतन्त्रको जग बलियो हुँदाहुँदै पनि संरचनागत कमजोरी र पुँजी पलायनका कारण हामीले मेहनत अनुसारको फल पाउन नसकिरहेको बताउनु भयो ।

‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको प्रधानमन्त्री कार्कीले  बताउनु भयो ।

आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको तयारीमा सरकार जुटेको र निर्वाचनमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा मुलुक अघि बढाउने र यहीँ नै गरी खान सकिन्छ भन्ने आशा जगाउँदै त्यसका लागि उपयुक्त वातावरण बनाउन सरकार प्रयासरत रहेको पनि प्रधानमन्त्री कार्कीले बताउनु भयो ।

सुशासन कुनै पनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वशर्त भएकोले कानुनको शासन स्थापित गर्न र सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको प्रधानमन्त्रीले बताउनु भयो ।

सरकार निजी क्षेत्रको मागलाई सम्बोधन गर्न र लगानीको सहज वातावरण निर्माणमा निरन्तर सहकार्य गरिरहेको प्रधानमन्त्रीले उल्लेख गर्नु भयो ।

सरकार रेमिट्यान्सको भरमा मात्र बाँच्ने अवस्थाबाट बाहिर निस्केर आफ्नै उत्पादन बढाउने अभियानमा जुटेको,व्यवसाय गर्ने वातावरण सुधार गर्न नीतिगत जटिलताहरू हटाउँदै लगेको र जलविद्युत, पर्यटन, र कृषिमा रहेको ठूलो अवसरलाई केन्द्रमा राखेर हामी नीति बनाउँदै लगेको प्रधानमन्त्रीले बताउनु भयो ।

प्रधानमन्त्री कार्कीले उद्यमी,किसान र युवाहरूलाई हातेमालो गरी आत्मविश्वासका साथ अगाडि बढ्न पनि आव्हान गर्नु भयो ।

मा प्रकाशित