१ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन–कात्तिक) मै सरकारको खर्च र आम्दानी बीच ठूलो अन्तर देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आव कात्तिक मसान्तसम्म सरकारको खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ बराबर भएको छ । यो बीचमा आम्दानी भने ३ खर्ब ३३ अर्ब रुपैयाँ मात्र भएको छ ।
कात्तिकसम्म भएको बजेट खर्च लक्ष्यको २२.८७ प्रतिशत हो । पहिलो चौमासिक अवधिमा सरकारले चालु प्रकृतिको खर्च ३ खर्ब २० अर्ब ९९ करोड रुपैयाँ बराबर भएको छ ।जुन लक्ष्यको २७.१८ प्रतिशत हो ।
वित्तीय व्यवस्थामा भने पहिलो चौमासिकमै १ खर्ब २२ अर्ब रुपैयाँ खर्च भइसकेको छ जुन लक्ष्यको ३२.६७ प्रतिशत हो ।
यस वर्ष वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब रुपैयाँ बराबर खर्च गर्ने लक्ष्य रहेको छ । खर्च र आम्दानीका बीचमा खाडल हुँदा सरकार सार्वजनिक ऋणको भर पर्नु परेको छ ।
त्यसो त सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा लक्ष्यको ७७.४९ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ ।
अर्थ मन्त्रालयका अनुसार यस अवधिमा सरकारले ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो ।
राजस्व संकलन भने ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ मात्र भएको छ । जुन लक्ष्यको ७७.४९ प्रतिशत मात्र हो ।
यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । कात्तिक महिनामा मात्र सरकारले १ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो ।
कात्तिक महिनामा संकलन भने ७८ अर्ब ३३ करोड रुपैयाँ मात्र छ । जुन ७५.४९ प्रतिशत हो । ३० कात्तिकका दिन मात्र ३ अर्ब ६८ करोड रुपैयाँ राजस्व उठेको अर्थ मन्त्रालयको तथ्यांक छ ।
